काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामो समयको अन्योल र आशङ्कापछि बूढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले पुनः अघि बढाउने पहल गर्नु सकारात्मक भएको बताएका छन् ।
रास्वपा सरकारलाई विगतको गल्ती सच्याएर अघि बढ्ने राम्रो अवसर प्राप्त भएको जनाएका छन् ।
उनले भनेका छन्, ‘सबभन्दा आधारभूत र महत्त्वपूर्ण कुरा, देशको मध्यभागमा र काठमाडौं, पोखरा र भरतपुर जस्ता ठुला सहरहरूको बिचमा रहेको यो परियोजनालाई एउटा थप विद्युत् उत्पादन (१२०० मेगावाट) को साधनको रूपमा मात्र हैन देशको बहुआयामिक आर्थिक रूपान्तरणको केन्द्रको रूपमा बुझ्न जरुरी छ।’
अल्पविकसित अर्थतन्त्रलाई औद्योगिक अर्थतन्त्रतर्फ फड्को हान्न वा आर्थिक मन्दीलाई अन्त्य गर्न इतिहासका विशिष्ट मोडहरूमा त्यहाँका दूरदर्शी नेताहरूले यस्तै बहुआयामिक मेगा–प्रोजेक्टहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गराउनुपर्ने उल्लेख गरेका छन्।
उनले थपेका छन्, ‘सभामुख, अर्थमन्त्री त्यही क्षेत्रका भएकाले र स्वयम् प्रम इन्जिनियर समेत भएकाले साथै ऊर्जाशील उर्जामन्त्री भएकाले यसको महत्ववोध अवश्य गर्नुहुनेछ। बूढीगण्डकी आयोजनालाई अरू सामान्यमाथि एउटा थप जलविद्युत योजना मात्र हैन देशको अर्थतन्त्रलाई नै फड्को लगाउन सक्ने विशिष्ट रूपान्तरणकारी आयोजनाको रूपमा ग्रहण गर्नुहुनेछ।’
विद्युत् प्राधिकरण मातहतको एउटा सामान्य कम्पनीमार्फत मात्रै नभई छुट्टै ऐनद्वारा गठित अधिकार सम्पन्न ‘बूढीगण्डकी जलाधार विकास प्राधिकरण’ मार्फत बहुउद्देश्यीय परियोजनाको रूपमा निर्माण र व्यवस्थापन नगरे पुनः ‘हात्ती आयो, फुस्सा ..’ हुनसक्ने सुझाएका छन्।
प्रतिक्रिया