+
Search

ताजा अपडेट +

पपुलर +

ईश्वर पोखरेलको चेतावनी: पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुनसक्छ

पालिका लाइभ
२०८२ पुष ८, मंगलवार

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले आफ्नो समूहले आयोजना गरेको महाधिवेशन समीक्षा भेलालाई गलत रूपमा नबुझ्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रतिस्पर्धी समूहभित्र भएको सामान्य छलफल र बिदाइ भेटघाटलाई लिएर अनावश्यक रूपमा तरंगित हुन नपर्ने बताएका छन्।

अध्यक्ष पदका प्रत्यासीसमेत रहेका पोखरेलले एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोध कसैबाट पनि नहुने स्पष्ट पारेका छन्। उनले लेखेका छन्, ‘भरखरै नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूबीच भएको सामान्य छलफल र बिदाइलाई लिएर केही साथीहरूले सार्वजनिक रूपमा प्रतिक्रिया दिनु भएकोप्रति ध्यानाकर्षण भएको छ।’

पार्टीभित्र विगतमा भएका बहस र विवादले नकारात्मक तथा नोक्सानदायी परिणाम निम्त्याएको स्मरण गर्दै पोखरेलले त्यसले सिर्जना गरेको त्रास अझै पनि केही हदसम्म बाँकी रहेको उल्लेख गरेका छन्। तर विगतको त्यही ‘त्रास’ वा ‘भूत’ बाट सधैँ तर्सिरहनु उपयुक्त नहुने उनको भनाइ छ। उनले विगतका दुर्भाग्यपूर्ण अध्याय दोहोरिन नदिइने र संस्थागत निर्णय तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैले कुनै काम नगर्ने स्पष्ट पारेका छन्।

तर उनले आत्मसमर्पण र आत्मसम्मानबीचको भिन्नता बुझ्न आवश्यक रहेको उल्लेख गर्दै सबै तहका नेता–कार्यकर्ताले समान र सम्मानजनक व्यवहारको अपेक्षा गर्ने बताएका छन्। कसैलाई काखा र कसैलाई पाखा नलगाइयोस् भन्ने चाहना स्वाभाविक भएको र त्यस्तो नहुँदा असहमति वा विरोध व्यक्त हुनु अस्वाभाविक नभएको उनको तर्क छ।

पोखरेलले महाधिवेशनका क्रममा प्रस्तुत अवधारणा, समूहगत प्रतिस्पर्धा र नीतिगत अडानबारे सबै कुरा प्रस्ट भइसकेको उल्लेख गरेका छन्। यसपटक विभिन्न कारणले नेतृत्व चयनमा सर्वसम्मति हुन नसकेको भन्दै नेतृत्वतर्फबाट त्यसका लागि ठोस पहल नभएको कुरा महाधिवेशनका सहभागीहरूले बुझेकै हुनुपर्ने उनको भनाइ छ। समूहगत प्रतिस्पर्धाको प्रक्रियामा जाँदा पार्टी जीवनको लोकतान्त्रिकरणसँग सम्बन्धित केही नीतिगत विषयहरू उठाइएका र ती ‘अवधारणा पत्र’ का रूपमा सार्वजनिक तथा बन्द सत्रमा प्रस्तुत गरिएकाले लुकाउनुपर्ने कुनै विषय नभएको उनले स्पष्ट पारेका छन्।

महाधिवेशनले निष्कर्ष दिइसकेको अवस्थामा त्यसको पालना गर्नु सबैको कर्तव्य भएको पोखरेलले उल्लेख गरेका छन्। तर नेतृत्वबाट आत्मसमर्पण होइन, समान र सम्मानजनक व्यवहार अपेक्षित हुने भन्दै त्यस्तो हुन नसके अप्रिय र नोक्सानदायी परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

उनले रूपान्तरणका लागि निरन्तर बहस–छलफल, संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखा–पाखा नहुने सुनिश्चितता र पार्टी विभाजनको दृढ विरोध अहिलेको आवश्यकता भएको बताएका छन्। महाधिवेशनमा समूहगत प्रतिस्पर्धा भए पनि अब सबैलाई यी मूल्य र मान्यताबाट निर्देशित हुनुपर्नेमा उनले जोड दिएका छन्।

कसैप्रति आग्रहप्रेरित कटाक्ष गर्नु पार्टी र आन्दोलनका लागि लाभदायी नभई नोक्सानदायी हुने उल्लेख गर्दै पोखरेलले अनावश्यक रूपमा तरंगित नहुन आग्रह गरेका छन्। विधि र प्रक्रियाअनुसार गरिएका निर्णयको निशर्त पालना, पार्टी एकतालाई मजबुत बनाउने व्यवहार, विभाजनको सख्त विरोध र सबै कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण गर्न सके मात्र पार्टी सुदृढ हुने उनको निष्कर्ष छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ