काठमाडौं– काठमाडौं महानगरपालिकाले सहरका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान कार्य सम्पन्न हुने अन्तिम चरणमा पुर्याएको छ।
हाइ मास्ट बत्ती आवश्यक देखिएका ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाड्ने काम सकिएको र अहिले बत्ती जडान अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए।
९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा सम्पन्न हुँदैछ। महानगरले ०८१ पुस २३ गते निर्माण पक्षसँग सम्झौता गरेर कामको जिम्मा दिएको हो। निर्धारित म्याद पुस ३० गतेसम्म भए पनि तिहार पर्वका लागि समयमै बत्ती बाल्ने लक्ष्य राखिएकाले काम तिहार अघि नै पूरा गरिएको उनले बताए।
उनका अनुसार ६२ चोकमध्ये २१ चोकमा १२ दशमलव ५ मिटर अग्ला पोल जडान हुँदैछन्, जसमा ६ वटा बत्ती रहनेछन्। बाँकी ४१ चोकमा १६ मिटर अग्ला पोल गाडिँदै छन्, जसमा ८ वटा बत्ती रहनेछन्। यी बत्तीहरू १ हजार वाट क्षमताका हुन्। सफ्टवेयर प्रणालीमा आधारित भएकाले आवश्यकताअनुसार प्रकाशको तीव्रता घटबढ गर्न सकिने सुविधा छ।
हाइ मास्ट बत्ती जडान भएका चोकहरूमा मनोहरा पार्क नरेफाँट, जडीबुटी चोक, कोटेश्वर, तीनकुनेका तीन कुनामा, अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश र निर्गमन द्वार अगाडि, तिलगंगा, गौशाला, मित्रपार्क, गौरीघाट, चावहिल, चुच्चेपाटी, सुकेधारा, शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि, बानेश्वर, बिजुली बजार आर्क ब्रिज, माइतीघर मण्डला क्षेत्रका तीन ठाउँ, बालाजु बाइपास, बालाजु चोक, नयाँ बसपार्क, सहिद गंगालाल हृदय केन्द्र अगाडि, सोह्रखुट्टे, लैनचौर, लाजिम्पाट, दुग्ध विकास संस्थान अगाडि, गैरीधारा, नारायणहिटी, पब्लिक यूथ क्याम्पस, इन्द्रायणी मन्दिर, टेकु पुल, कालीमाटी चोक, तरकारी बजार, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड गेट, वीर अस्पताल अगाडि, असन, बसपार्क मुख्य प्रवेशद्वार, कलंकी, डल्लु पुल, परोपकार, छाउनी, स्वयम्भू, नारायणचौर, लगन, दरबारमार्ग, जमल, कान्तिपथ र शान्ति पार्क पर्छन्।
यससँगै महानगरले रातको समयमा पनि निर्धक्क आवागमन र शान्ति–सुरक्षाका लागि करिब ९० करोड रुपैयाँ लागतमा आधुनिक सडक बत्ती जडानको तयारी गरेको छ। महाशाखा प्रमुख नेपालीका अनुसार स्रोत, साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गर्न र सहरी सौन्दर्य बढाउन ५ हजार ३१८ पोलमा १३ हजार ३४० बत्ती राखिने योजना छ।
काठमाडौंलाई चार क्षेत्रमा विभाजन गरेर काम अघि बढाइनेछ।
पूर्व क्षेत्रमा वडा नं. ६, ७, ८, ९, १०, ३१ र ३२ गरी सात वडा पर्छन् जहाँ २६ करोड रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत ६० वाट क्षमताका १ हजार, ९० वाट क्षमताका २ हजार १५० र १२० वाट क्षमताका ६ सय बत्ती जडान गरिनेछन्।
उत्तर क्षेत्रमा वडा नं. १, २, ३, ४, ५, २६, २८, २९ र ३० पर्छन्, जसका लागि २८ करोड रुपैयाँ विनियोजन गरिएको छ र ६० वाटका ९ सय, ९० वाटका २ हजार ५ सय र १२० वाटका ६ सय ३० बत्ती राखिनेछन्।
मध्य क्षेत्रमा वडा नं. ११, १२, १७ देखि २५ र २७ गरी १२ वडा पर्दछन्। यस क्षेत्रमा १२ करोड रुपैयाँ विनियोजन गरी ६० वाटका ८ सय ७०, ९० वाटका ८ सय ६० र १२० वाटका १ सय बत्ती जडान गरिनेछन्।
पश्चिम क्षेत्रमा वडा नं. १३, १४, १५ र १६ पर्दछन् जहाँ २४ करोड रुपैयाँ विनियोजन गरिएको छ र ६० वाटका ८ सय, ९० वाटका २ हजार ४३० र १२० वाटका ४ सय ८० बत्ती राखिनेछन्। यस परियोजनाको सार्वजनिक खरिद प्रक्रिया हाल जारी छ र २०८२ असोज १२ गते सूचना प्रकाशित भइसकेको छ।
यसअघि पनि महानगर र प्राधिकरणबीचको साझेदारीमा सहरका प्रमुख सडकहरूमा आधुनिक बत्ती जडान गरिएको थियो।
११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागतको उक्त परियोजनामा ६० प्रतिशत लगानी महानगरको र ४० प्रतिशत प्राधिकरणको थियो।
सडक विभागसँग सहमति लिएर गरिएको उक्त काम अन्तर्गत लैनचौरदेखि महाराजगञ्ज, माइतीघर मण्डलादेखि बागबजार हुँदै शीतल निवाससम्म, सिनामंगलदेखि कमलपोखरी, चावहिलदेखि जोरपाटी, सिनामंगल विमानस्थलदेखि कलंकीसम्मका मुख्य सडकमा बत्ती जडान गरिएको हो।
प्रतिक्रिया