+
Search

ताजा अपडेट +

पपुलर +

सांसद कार्कीको प्रश्न- गृहमन्त्रीलाई नेपाली दाजुभाइ दिदीबहिनीको लाश देखेर मुटु काँप्दैन ?

पालिका लाइभ
२०८२ श्रावण २१, बुधबार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका छन् ।

सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न दिएका थिए ।

उनले भिजिट भिसा प्रकरणमा आफूहरूको माग अनुरूप छानबिन गर्न समिति नबनाइएकोले नबस्दासम्म विरोध गरिरहने बताए । त्यति मात्र होइन, उनले मन्त्रिपरिषद्का सदस्यहरू विभिन्न काण्डमा मुछिएको भन्दै छानबिन गर्न माग गरे ।

त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद रोशन कार्कीलाई बोल्ने समय दिए ।

उनले पनि सधै जस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको माग बमोजिम समिति गठन नभएकाले नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताइन् ।

सांसद कार्कीले गृहमन्त्री रमेश लेखकलाई नेपाली दाजुभाइ दिदीबहिनीको लाश देखेर मुटु काँप्दैन भन्दै प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेचिएको बताइन् । बेचिएकाहरू अनेक दुःख पाएर लास बनी नेपाल फर्किन बाध्य रहेको उनले बताइन् ।

‘नेपाली दाजुभाइ दिदीबहिनी विदेशबाट लाश बनी फर्केर आउँदा मुटु गृहमन्त्रीको काँप्दैन । भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर नबेच । लास बनेर फर्किने अवस्थाको अन्त्य गर ।’उनले आफूहरू भिजिट भिसाको विरोधी नभई भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी भएको बताइन् ।

उनले भनिन्, ‘भिजिट भिसाको नाममा नेपालीहरूको हत्या गर्ने कार्यको विरोधी हौँ । भिजिट भिसाको विरोधी होइनौ ।’

दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ