+
Search

ताजा अपडेट +

पपुलर +

‘परिस्थितिले परदेशी बनायो गीत संगीतबाट टाढा गरायो’, तर मनले हार मानेन- गायिका लामा

पालिका लाइभ
२०८२ जेष्ठ १५, बिहीबार

गोरखा- गायन र अभिनयप्रतिको मोह सानै उमेरदेखि बोकेकी सुमित्रा लामा अहिले अमेरिकामा बसोबास गर्दै नेपाली संगीत र कलामा आफूलाई समर्पित गरिरहेकी छन्। जन्मगृह सिरानचोक गाउँपालिका–८ धारापानीकी लामा बाल्यकालदेखि नै गीत संगीतमा विशेष रुचि राख्थिन्। त्यसै मोहलाई जीवनको बाटो बनाउँदै उनले विभिन्न गीत प्रतियोगिताहरूमा सहभागिता जनाइन् र धेरैजसोमा उत्कृष्ट स्थान प्राप्त गरिन्।

लामो समयदेखि यसै क्षेत्रमा सक्रिय सुमित्रा भन्छिन्, ‘जीवनमा जे छ, त्यसमै रमाउनुपर्छ भन्ने सोच बोकेकी छु। कलाकारितालाई पूर्णतः अँगालेर मिहिनेत गरिरहेको छु। भविष्यमा सफल गायिका बन्ने सपना बोकेर अघि बढिरहेकी छु।’ गायन मात्र नभई अभिनयमा समेत पोख्त सुमित्राको सपना भनेको आफ्ना सिर्जनामार्फत दर्शक श्रोताको मन जित्ने हो।

उनले नेपाली सांगीतिक क्षेत्रमा धेरै एल्बम र म्युजिक भिडियोहरूमा काम गरिसकेकी छन्। आकर्षक स्वर, सुन्दर व्यक्तित्व र आत्मविश्वासी प्रस्तुतिका कारण सुमित्रालाई दर्शकहरूले रुचाउने गर्छन्। अझै उनले अभिनय गरेको म्युजिक भिडियोमा उनका बोल्ड र आत्मविश्वासी अभिनय शैलीले धेरैको ध्यान खिचेको छ।

सुमित्राले कलाकारितालाई केवल व्यक्तिगत प्रसिद्धिको लागि नभई समाज, संस्कृति र परम्परालाई उजागर गर्ने माध्यमका रूपमा हेर्ने बताउँछिन्। उनी भन्छिन्, ‘कलाकारिता क्षेत्रमा धेरैले क्षणिक चर्चाको लागि अश्लीलता र भल्गरपनलाई प्राथमिकता दिने गरेका छन्, तर म चाहन्छु, कलाले समाजको ऐतिहासिक, सांस्कृतिक र परम्परागत सम्पदाको जगेर्ना गरोस्।’

हाल अमेरिकामा रहेका सुमित्रा कामको व्यस्तताका बीच पनि नेपाली सांगीतिक कार्यक्रममा सहभागी भइरहन्छिन्। स्टेज कार्यक्रममा गाउने अवसर पाएमा उनी गीतसहितको प्रस्तुति दिन हिचकिचाउँदिनन्। भन्छिन्, ‘म संगीत बिना एकछिन पनि बस्न सक्दिन। गायकी मेरो रगतमा बगेको नशा हो।’

उनी भन्छिन्, ‘परदेशमा पुगेर घरदेश झनै सम्झना आउँछ। यहाँ बिताएका ती दिनहरू निकै अविस्मरणीय छन्।’ विदेशमा रहेर समयको अभावले गर्दा धेरै गीतका अफर अस्वीकार गर्नुपरेको उनी बताउँछिन्। तर भन्छिन्, ‘मनले कहिल्यै हार मान्दैन। अझै पनि केही नयाँ गर्ने हुटहुटी मनमा जीवित छ।’

सुमित्राले हालसम्म दर्जनौँ गीतहरूमा स्वर दिएकी छन् र अभिनयमा समेत काम गरिसकेकी छन्। नेपाली मौलिक भाकाबाट लिएर आधुनिक लयसम्म उनले आफूलाई सफलतापूर्वक प्रस्तुत गरेकी छन्। उनको मधुर आवाज, अभिनयमा सहजता, र आत्मविश्वास दर्शकलाई लोभ्याउने खालको छ।

शारीरिक रूपमा आकर्षक लामा स्लिम शरीर, सुन्दर आँखा, चिप्ला ओठ र आत्मविश्वासपूर्ण बोलीका कारण पनि सांगीतिक भिडियोमा विशेष ध्यान खिच्न सफल भएकी छन्। बोल्ड लुक्स, हाई फिगर र प्रभावशाली प्रस्तुति उनको विशिष्टता बनेको छ।

सुमित्रा मिजासिलो स्वभावकी हुन्। उनी सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावकी भएकाले पनि सांगीतिक वृत्तमा राम्रो छवि बनाएकी छन्। खाना पकाउन, नयाँ ठाउँ घुम्न, खेल खेल्न लगायतका सौखिन रुचिहरू उनले बाँडेकी छन्।

सुमित्रा प्रेम सम्बन्धका विषयमा खासै खुलेर बोल्दिनन्। तर उनी भन्छिन्, ‘प्रेम र विश्वास बिना संसारको कल्पना गर्न सकिन्न। शारीरिक सम्बन्ध भनेको प्रकृतिको अनुपम उपहार हो, यसको प्रयोग सही समय र सही व्यक्तिसँग मात्र हुनुपर्छ।’

मिडियामा नदेखिनुका कारण आफू पछि परेको महसुस हुने बताउने सुमित्रा भन्छिन्, “म दर्शकसँग परिचित हुन चाहन्थेँ, तर मिडियामा पुग्न सकिन। जसरी आमाबुबाको माया ममता पाएको थिएँ, त्यसरी नै यहाँ पनि कसैको साथ बिना, एक्लो संघर्ष गर्दै यहाँसम्म आइपुगेकी छु।”

उनको विश्वास छ- साँचो कलाले अन्ततः आफ्नो ठाउँ बनाउँछ। उनी भन्छिन्, ‘नयाँ प्रतिभाले स्थान पाउन सहज छैन। तर मौका पाइए, राम्रा प्रतिभाहरू अगाडि बढ्न सक्छन्। मेरो पनि यात्रा त्यही हो- धेरै संघर्ष, केही अवसर, अनि निरन्तर मिहिनेत।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ