लमजुङ– दोर्दी गाउँपालिकामा अकबरे खुर्सानी खेतीको व्यावसायिक विस्तार तीव्र गतिमा अघि बढिरहेको छ।
गाउँपालिकाको प्राविधिक सहयोग र वित्तीय अनुदानमा आधारित भएर हाल गाउँपालिकाभित्र झन्डै ७ सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गरिएको छ।
परम्परागत खेती प्रणालीबाट आधुनिक र नगदे बालीतर्फको रूपान्तरण गर्ने उद्देश्यले गाउँपालिकाले अकबरे खुर्सानीलाई प्राथमिकता दिँदै आएको छ।
गाउँपालिकाले चालु आर्थिक वर्षमा अकबरे खुर्सानी खेतीका लागि कृषि सहकारी उत्पादन तथा बजारीकरण सुदृढीकरण कार्यक्रममार्फत ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियाे। गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार व्यवसायिक रूपमा खेती गर्ने कृषकलाई प्रविधिको पहुँच पुर्याउने उद्देश्यले बीउमा ५० प्रतिशत अनुदानका साथै मल्चिङ प्लास्टिक, तालिम र प्राविधिक सहजीकरण गरिएको उनले बताए।
यसअघि गत वर्ष वडा नम्बर ४ अन्तर्गतको कामचोक, बाँसबोट र साँधिखोलाका किसानहरूले परीक्षणका रूपमा अकबरे खुर्सानी खेती गरेका थिए। लामो समयदेखि कोदो र मकै जस्ता परम्परागत बाली लगाउँदै आएको जमिनमा खुर्सानी खेती गर्दा आशातीत आम्दानी भएपछि कृषकहरूको आकर्षण बढेको छ। खुर्सानीको उत्पादन राम्रो हुनुका साथै बजार पनि सहज भएकाले यस वर्ष गाउँपालिकाले पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्दै खेती विस्तार गरेको हो।
गत वर्ष खुर्सानी खेतीको अनुभव बटुलेका वडा नम्बर ४ का किसानहरूले यस वर्ष पनि खेतीलाई निरन्तरता दिएका छन्। त्यही वडामा रहेको साना किसान कृषि सहकारी संस्थाले १२ रोपनी क्षेत्रमा खुर्सानी खेती सुरु गरिसकेको छ।
दोर्दीका किसानहरू पहिलो पटक परीक्षणको रूपमा खुर्सानी खेती गर्दा नै सफल अनुभव भएपछि यो वर्ष थप उत्साहका साथ खेतीमा जुटेका पालिका अध्यक्ष अधिकारी बताउँछन्। उनीहरूले उत्पादन गरेको खुर्सानीलाई सहज रूपमा स्थानीय बजार, सहकारी संस्था र केही व्यापारिक घरानाहरू मार्फत बिक्री गर्न पाएका छन्। बजारमा प्रतिकेजी ३०० देखि ५०० रुपैयाँसम्म मूल्य पाएको खुर्सानीले कृषकहरूको आम्दानीमा उल्लेख्य वृद्धि गरेको छ।
गाउँपालिकाले योजना अनुसार प्रत्येक वडामा कम्तीमा १०० रोपनी क्षेत्रफलमा व्यावसायिक अकबरे खुर्सानी खेती गर्ने लक्ष्य लिएको जनाएकाे छ । त्यो योजनाको कार्यान्वयन गर्दै हालसम्म जम्मा ७ सय रोपनी क्षेत्रमा खेती विस्तार गरिएको गाउँपालिकाले जनाएको छ। खेतीको विस्तारसँगै कृषकहरूको दक्षता अभिवृद्धि गर्न तालिम, किसान भेटघाट कार्यक्रम र प्रविधि प्रदर्शनमार्फत सहयोग पुर्याइएको छ।
अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाको मूल उद्देश्य नै कृषि क्षेत्रको आधुनिकीकरण गर्दै ग्रामीण युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नु रहेकाे बताए। उनका अनुसार अकबरे खुर्सानी जस्ता नगदे बालीहरूको प्रवर्द्धनले युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाउनेछ। गाउँमै उत्पादन गरेर आम्दानी गर्न सकिने वातावरण निर्माण गर्नका लागि पालिका गम्भीर भएर लागिरहेको छ।
वडाध्यक्ष मीनबहादुर गुरुङले पनि व्यावसायिक कृषि योजनाले स्थानीय स्तरमा नयाँ आशा र सम्भावना देखाएको बताए। उनले कृषि पेशा प्रति युवा पुस्ताको रुचि बढ्दो क्रममा रहेको जनाउँदै, व्यावसायिक योजना अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
सहकारी संस्थाहरूले खेतीको व्यवस्थापन, बीउ वितरण, मल आपूर्ति, अनुगमन र बजार व्यवस्थापनमा सघन भूमिका निर्वाह गरिरहेका छन्। विशेषतः महिला कृषकहरूको सहभागिता उल्लेखनीय रूपमा बढ्दो छ, जसले समावेशी कृषि विकासमा योगदान पुर्याएको छ।
खेतमा प्लास्टिक मल्चिङ, घेराबारा र सिँचाइको व्यवस्था मिलाएर गरिएको खुर्सानी खेतीले गाउँको कृषि परिदृश्य नै बदलिएको छ। दुई वर्ष अगाडिसम्म आत्मनिर्भर नभएका कृषकहरू अहिले गाउँमै बसेर मनग्य आम्दानी गर्न थालेका छन्।
प्रतिक्रिया