काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण’ अभियान सुरु गरेको छ।
पार्टीले सबै केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेर ३१ पृष्ठको अवधारणापत्र पठाएको छ, जसमा विगतका निर्वाचन परिणाम, पार्टीको कमजोर बन्दै गएको जनाधार र आगामी रणनीतिबारे विस्तृत विश्लेषण गरिएको छ।
दस्ताबेजमा २०७४ को निर्वाचनपछि वाम गठबन्धन र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठनबाट उत्साहित बनेको जनमत पार्टी एकता विघटन र एमाले विभाजनपछि निराश भएको उल्लेख गरिएको छ। एमालेले यही कारणले मतदाता वैकल्पिक शक्तितर्फ आकर्षित भएको निष्कर्ष निकालेको छ।
पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई नेपालको अस्थिर राजनीति र भूराजनीतिक प्रभावको परिणामका रूपमा व्याख्या गरेको छ। साथै, एमाले नेतृत्वका सरकारले गरेका काम प्रभावकारी रूपमा जनतामाझ पुर्याउन नसक्दा पार्टीलाई राजनीतिक क्षति पुगेको दस्ताबेजमा उल्लेख छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार अभियानको उद्देश्य पार्टीका नेताहरूलाई राजनीतिक पृष्ठभूमि, निर्वाचनमा आएको पराजयका कारण र भावी कार्यदिशाबारे स्पष्ट बनाउनु हो। उनले पार्टी कमजोर हुनुका कारण, देशी–विदेशी प्रभाव, सामाजिक सञ्जाल र ‘अल्गोरिदम’ को प्रयोगजस्ता विषय पनि दस्ताबेजमा समेटिएको बताए।
जनतासँगको सम्बन्ध पुनः सुदृढ बनाउन एमालेले ‘६ ज’ नीति अघि सारेको छ। यसअन्तर्गत जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसंगठन परिचालन गरौँ, जबजलाई आत्मसात गरौँ र जनमत सर्वेक्षणका आधारमा सक्षम नेतृत्व तयार गरौँ भन्ने कार्यदिशा तय गरिएको छ।
पार्टीले सबै केन्द्रीय सदस्यलाई पालिका तहसम्म जिम्मेवारी दिएको जनाएको छ। केन्द्रीय सदस्य नपुगेका क्षेत्रमा अन्य नेताहरूलाई समेत जिम्मेवारी तोकिएको छ।
एमालेका अनुसार यो अभियान आगामी स्थानीय तह र प्रदेश निर्वाचनसम्म निरन्तर सञ्चालन हुनेछ।
प्रतिक्रिया