+
Search

ताजा अपडेट +

पपुलर +

७७५ गाडी भन्सार छली प्रकरण :

छानबिन टोली मुस्ताङमा, प्रमुख भन्सार अधिकृतसहित ९ कर्मचारी तानिए

पालिका लाइभ
२०८३ जेष्ठ २३, शनिबार

काठमाडाैं– चीनसँगको कोरलानाका हुँदै नेपाल भित्रिएका ७७५ वटा बीवाईडी विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रक्रियामा अनियमितता भएको आशंकापछि गठित छानबिन समिति मुस्ताङ पुगेको छ।

अर्थ मन्त्रालयको निर्देशनमा गठित तीन सदस्यीय छानबिन टोली, भन्सार विभागका निर्देशक भूपालराज शाक्यको नेतृत्वमा बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङ पुगेर अनुसन्धानमा जुटेको हो।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार समितिले हालसम्म पोखराको हेम्जामा राखिएका ९८ वटा, पर्वतको कुश्मामा रहेका १७ वटा तथा जोमसोम बसपार्कमा पार्किङ गरिएका २६६ वटा विद्युतीय सवारीसाधनको स्थलगत निरीक्षण गरिसकेको छ।

गत भदौदेखि सञ्चालनमा आएको कोरलानाका हुँदै जेठको दोस्रो सातासम्म बीवाईडीका ७७५ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएको तथ्यांक छ। तीमध्ये ६४९ वटा सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ।

भन्सार प्रक्रियामा गम्भीर अनियमितता भएको आशंकापछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत यस विषयलाई चासोका साथ हेरेको छ।

यसैबीच, घटनाको थप अनुसन्धानका लागि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएर भन्सार विभागमा तानिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको समेत जाँचपास भएको भन्ने प्रारम्भिक तथ्य फेला परेपछि छानबिन समितिको सिफारिसका आधारमा सम्बन्धित कर्मचारीहरूलाई विभागमा तानिएको हो।

सरकारले उक्त प्रकरणलाई गम्भीर रूपमा लिएर थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ। छानबिन प्रतिवेदनपछि भन्सार छली वा प्रक्रियागत कमजोरीबारे स्पष्ट निष्कर्ष आउने अपेक्षा गरिएको छ।

याे पनि,

सशस्त्रले नियन्त्रणमा लिएको ७७५ गाडी बिवाईडी कम्पनीका, भन्सार छलीको आशंकामा छानबिन हुँ

सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ