+
Search

ताजा अपडेट +

पपुलर +

ऊर्जालाई अर्थतन्त्र चलायमान बनाउने क्षेत्रका रूपमा विकास गर्दै छौँ : अर्थमन्त्री वाग्ले

पालिका लाइभ
२०८३ बैशाख २९, मंगलवार

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुककाे अर्थतन्त्रकाे विकासमा विद्युत् क्षेत्रको योगदान बढ्दै गएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का प्रतिनिधिहरुसँगकाे भेटका क्रममा उनले यस्ताे बताएका हुन् ।

सरकारले ऊर्जालाई अर्थतन्त्र चलायमान बनाउने प्रमुख क्षेत्रका रूपमा विकास गर्ने योजना रहेको उनले बताए । ‘सरकार ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउने पक्षमा छ । यसको अर्थतन्त्रमा योगदान बढ्दो छ, अर्थतन्त्र हाँक्ने क्षेत्र बनाउने गरी नीति पनि बनाउँछौँ’ , उनले भने ।

उनले सरकार लगानीकर्ताको साथ चाहेको उल्लेख गर्दै लगानीकर्ताले पनि उच्च व्यावसायिकता र इमान्दारितासहित ऊर्जा क्षेत्रमा लगानी भएको अनुभूति हुने गरी काम गर्नुपर्ने बताए ।

भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए । सरकारले अघि सारेको १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्र तयार रहेको उल्लेख गर्दै अध्यक्ष कार्कीले सोहीअनुसार नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्न आग्रह गरे ।

उनले विद्युत् खरिद सम्झौता (पिपिए) खुलाउनुपर्ने तथा निजी क्षेत्रलाई विद्युत् व्यापार र प्रसारण लाइनमा सहभागी गराउनुपर्ने आवश्यकता औँल्याए ।

अध्यक्ष कार्कीले धितोपत्र बोर्डबाट समयमा प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) अनुमति दिनुपर्ने, आयोजनाको शान्तिसुरक्षाको व्यवस्था गर्नुपर्ने तथा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीतिगत र कानुनी सुधार आवश्यक रहेको बताए ।

भेटका क्रममा इप्पानले ‘नेपाल ऊर्जा विकास तथा उपभोग अभिवृद्धिको दशक’ घोषणा गर्नुपर्ने सुझावसमेत दिएको छ । कार्यक्रममा सहभागीहरूले सरकारको १० वर्षमा ३० हजार मेगावाट विद्युत् जडित क्षमता पुर्‍याउने लक्ष्य पूरा गर्न विद्युत् खरिद–बिक्रीका वैकल्पिक व्यवस्था कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ