काठमाडौं– बालेन नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी एक नर्सले पाएकी छिन् ।
उनी हुन् सुनसरी इनरुवाकी निशा मेहता ।
मेहता रास्वपाको समानुपातिक सूचीबाट सांसद बनेकी हुन् । उनी मधेशी महिलाको कोटामा परेकी थिइन् । उनी रास्वपाको केन्द्रीय सदस्य पनि हुन् ।
स्थापनाकालबाटै रास्वपामा आबद्ध भएकी उनी अघिल्लोपटक पनि समानुपातिक सूचीमा परेकी थिइन् । तर, सांसद बन्न सकेकी थिइनन् ।
२२ साउन २०४४ मा इनरुवामा जन्मिएकी मेहताले भारतको ग्वालियरस्थिति विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन् । पढाइसकेर फर्किएपछि उनले बिराटनगरस्थित विराट टिचिङ हस्पिटलमा काम गरिन् । उनी सांसद बन्नु अघिसम्म पनि आफ्नो पेशामा सक्रिय थिइन् । निर्वाचन आयोगबाट सांसदको प्रमाणपत्र लिएपछि भने पदबाट राजीनामा दिएकी छन् ।
उनी प्रहरीपत्नी पनि हुन् । निशाका श्रीमान् डा. सरोजसिंह कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख र प्रहरी नायव उपरीक्षक हुन् ।
रास्वपामा स्वास्थ्य मन्त्रीका थुप्रै दाबेदार थिए । केही मेडिकल डाक्टरहरू पनि रास्वपाबाट सांसद निर्वाचित भएका छन् । पछिल्लो पटक सोविता गौतमको नाम पनि स्वाथ्यमन्त्रीमा चर्चा भएको थियो ।
अन्तिममा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेनले मधेशी महिलाका रूपमा निशालाई रोजेका हुन् ।
प्रतिक्रिया