काठमाडाैं– प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषद् गठन प्रक्रियामा अन्तिम समयमा महत्त्वपूर्ण फेरबदल भएको छ।
सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव गरिएका अमरेश कुमार सिंह अन्ततः मन्त्रिपरिषद्बाट बाहिरिएका छन्।
स्रोतका अनुसार सिंहलाई उद्योग मन्त्रालय सम्हाल्ने प्रस्ताव गरिएको थियो। तर उनले उक्त जिम्मेवारी लिन अस्वीकार गरेपछि मन्त्रिपरिषद्को सूचीबाट हटाइएको हो। त्यसपछि प्रधानमन्त्री बालेनले उद्योग मन्त्रालय आफैँसँग राख्ने निर्णय गरेका छन्। यसअघि नै रक्षा मन्त्रालय पनि उनले आफ्नै जिम्मामा राखेका छन्।
सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा लाई पराजित गरेका थिए।
सिंहको राजनीतिक यात्रा उतारचढावपूर्ण रहँदै आएको छ। २०७० र २०७४ सालको निर्वाचनमा उनी कांग्रेसकै टिकटमा निर्वाचित भएका थिए। तर २०७९ सालमा तत्कालीन सभापति शेरबहादुर देउवाले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। स्वतन्त्र उम्मेदवारकै रूपमा उनले सत्ता गठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका थिए।
पछिल्लो समय सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। माघ ६ गते जनकपुरमा आयोजित कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र बालेनकै उपस्थितिमा उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेका थिए। त्यसयता उनलाई मन्त्री बनाउने चर्चा तीव्र बनेको थियो।
तर अन्तिम समयमा मन्त्रालय अस्वीकार गर्ने निर्णयसँगै उनी मन्त्रिपरिषद्बाट बाहिरिएका छन्।
प्रतिक्रिया