काठमाडौं– जेनजी आन्दोलन हुँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई सुविधानगरबाट पक्राउ गरिएको हो।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन सिडीओ रहेका रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
बानेश्वरमा किशोरहरूको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तीव्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफूले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए ।
तिनै रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख थिए ।
तत्कालीन गृहमन्त्री लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उनीमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोप समेत छ ।
अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृह मन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।
प्रतिक्रिया