+
Search

ताजा अपडेट +

पपुलर +

‘अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन, ढुक्क भएर लगानी बढाउनुस्’

पालिका लाइभ
२०८२ चैत्र १६, सोमबार

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गरेका छन् ।

सोमबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरू संगको भेटघाटमा यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले लगानी विस्तार गरी मुलुकको आर्थिक विकासमा सहभागी हुन आग्रह पनि गरे ।

उनले अब व्यवसायीहरूले काम गराउनका लागि घुस खुवाउनुपर्ने, लाइन लाग्नुपर्ने वा सानोतिनो कारणले थुनिनुपर्ने अवस्थाको अन्त्य हुने निजी क्षेत्रसँग प्रतिबद्धता जनाए ।

भेटका क्रममा अर्थमन्त्री वाग्लेले आफू अर्थतन्त्र सुधारको स्पष्ट मार्गचित्र सहित आएको बताउँदै भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताए ।  ‘म घुस खान आएको होइन र कसैलाई खान पनि दिन्न,’ उनले भने, ‘म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गति र दिशामा लैजान आएको हुँ । अब निजी क्षेत्रले दुःख पाउने दिन सकिए ।’

मन्त्री वाग्लेले सरकार निजी क्षेत्रको बाधक नभई सहयात्री बनेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

उनले आर्थिक क्षेत्रमा हुने बेइमानी वा त्रुटिहरूमा अब सरकारले फौजदारी नभई देवानी कानुन आकर्षित गर्ने संकेत गरे । उनले भने,  ‘आर्थिक बेइमानीमा हामी अब आर्थिक जरिवानाको बाटोमा जान्छौँ । उद्योगी व्यवसायीहरू अब थुनिनु पर्दैन ।’

राज्यले लचकता अपनाउँदा निजी क्षेत्रले पनि त्यसको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो ।

राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रबाट पनि पूर्ण इमानदारीको अपेक्षा गरिएको बताउँदै उनले नियोजित रूपमा बेइमानी गर्नेहरू विरुद्ध भने सरकार निर्मम रूपमा प्रस्तुत हुने चेतावनी दिए ।

‘हामी तपाईँहरूका सहयात्री हौँ, लगानी बढाउनुस्, रोजगारी सिर्जना गर्नुस् र देश बनाउन लाग्नुस्,‘ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ