काठमाडौं- पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई ले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देशको वर्तमान भू-राजनीतिक चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सुझाव दिएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा शाहले ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गरेका छन्।
उनले आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक अवरोधमा फसेको अर्थ–राजनीतिलाई गतिशील बनाउनुका साथै बाह्य रूपमा तीव्र परिवर्तन भइरहेका भू-राजनीतिक परिस्थितिलाई सन्तुलित रूपमा सम्हाल्नुपर्नेमा जोड दिएका छन्।
भट्टराईले २१औँ शताब्दीका आकांक्षा पूरा गर्न सुशासन, समावेशी समृद्धि र समयानुकूल नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। उनले डिजिटल प्रविधि र एआईमैत्री युवा पुस्ताको नेतृत्वमा मुलुक अघि बढ्नुपर्ने वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
त्यसैगरी, उनले लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणमा जोड दिँदै कसैको देवत्वकरण वा दानवीकरण नगरी गुण–दोषका आधारमा सहकार्य र स्वस्थ प्रतिस्पर्धा गर्ने अभ्यास विकास गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया