चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गोरखाबाट उम्मेदवार बनेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू मतदाता भेटघाट र मत माग्ने अभियानसहित चितवन पुगेका छन्।
गोरखा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार हरिराज अधिकारी र क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ न्यौपाने बुधबार चितवन आइपुगेका हुन्। पछिल्लो समय गोरखाबाट गई चितवनमा बसोबास गरिरहेका मतदातालाई लक्षित गर्दै उनीहरूले भेटघाट तथा छलफल सुरु गरेका छन्।

विशेष गरी बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनाका कारण विस्थापित भएका गोरखाली मतदाता चितवनमा उल्लेख्य संख्यामा रहेका छन्। ती मतदातालाई भेट्दै उम्मेदवारद्वयले आगामी निर्वाचनमा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।
यस क्रममा गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार लेखनाथ न्यौपानेले परम्परागत शैलीको चुनावी प्रतिस्पर्धाप्रति प्रश्न उठाउँदै निर्वाचन प्रक्रियामै सुधार आवश्यक रहेको धारणा व्यक्त गरे।
उनले भने, ‘हामी बेइमानी हुने, जनतामा निराशा पैदा गर्ने र पाँच वर्षपछि फेरि आउने उम्मेदवारले उही तामझाम दोहोर्याउने अवस्था बनाउँदै आएका छ, यो प्रवृत्तिमा अब परिवर्तन हुनुपर्छ।’
न्यौपानेले सांसदको भूमिका र जिम्मेवारीप्रति जनतामै पर्याप्त जानकारी नहुँदा गलत पात्र संसद पुग्ने अवस्था सिर्जना भएको बताए। ‘सांसदको काम के हो भन्ने नै नबुझेका व्यक्ति उम्मेदवार बन्छन् र जनताको विश्वासको आधारमा संसद पुग्छन्। त्यसैले अब चुनावलाई फरक तरिकाले हेर्नु जरुरी छ,’ उनले भने।

उनले विगतका संसदीय अभ्यासको आलोचना गर्दै विषयगत अध्ययन र ज्ञानको अभावका कारण संसदमा गम्भीर विषयमा समेत विषयान्तर हुने गरेको उल्लेख गरे।
‘संसदभित्र के–के बहस भएका थिए भन्ने कुरा थाहा पाउने हो भने स्पष्ट देखिन्छ, विषयमा प्रवेश नै नगरी फरक बिषयमा बोल्ने, विषयान्तर गर्ने प्रवृत्ति कसरी विकास भयो,’ उनले भने।
अबको संसदमा कस्ता सांसद पठाउने भन्ने जिम्मेवारी मतदाताकै हातमा रहेको उल्लेख गर्दै न्यौपानेले भने, ‘सांसदको काम के हो भन्ने बुझ्ने, अध्ययनशील र जिम्मेवार पात्रलाई जिताउने दायित्व तपाईंहरूको हो।’
संविधान संशोधनसम्बन्धी विषयमा समेत उनले आफ्नो धारणा राखे। ‘संविधानले हरेक १० वर्षमा संशोधन गर्ने अधिकार दिएको छ। त्यो भूमिका निर्वाह गर्न सक्ने क्षमतायुक्त उम्मेदवार म आफूलाई ठान्छु,’ उनले दाबी गरे।
उनले प्रतिनिधिसभामा विगतमा पानी, बिजुली र ऊर्जा क्षेत्रजस्ता राष्ट्रिय महत्वका विषयमा भइरहेको छलफलमा समेत ज्ञान र अध्ययनको कमी देखिएको बताए।
‘विद्युतीय सवारी साधन, ऊर्जा कारोबारजस्ता विषयमा ऐन र व्यापारको तहमा छलफल भइरहेको बेला संसदमा भने शतप्रतिशत विषयान्तर हुने अवस्था देखियो,’ न्यौपानेले भने।
गोरखाबाट चितवन झरेका मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूले निर्वाचनप्रतिको निराशा हटाउने र वैकल्पिक राजनीतिक सोच प्रस्तुत गर्ने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया