काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि आफू सर्लाही ३ बाट उम्मेदवार बन्न लागेको श्रेष्ठले बताए।
‘तपाईँ सर्लाही-३ बाट उम्मेदवार बन्दै हुनुहुन्छ हो?’ भन्ने प्रश्नमा उनले भने, ‘हो म सर्लाही-३ बाट यसपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्दैछु।’ पाँचौँ बरियताका नेता श्रेष्ठ हाल राष्ट्रिय सभा सदस्य छन्। उनीसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
०७९ सालको निर्वाचनमा सर्लाही- ३ बाट एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए। त्यतिबेला उप्रेतीले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका थिए।
उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्दा साहले ३२ हजार १६८ मत ल्याएका थिए। ०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने यो क्षेत्रबाट माओवादी केन्द्रका रामेश्वर यादव विजयी भएका थिए। सर्लाही-३ मा हरिवन र बागमती नगरपालिकासहितको भूगोल पर्छ। स्थानीय तहको निर्वाचनमा यी दुवै पालिकामा माओवादी उम्मेदवार विजयी भएका थिए।
नेता श्रेष्ठलाई नेकपाले ललितपुर क्षेत्र नम्बर- ३ बाट पनि उम्मेदवार सिफारिस गरेको छ। तर, ललितपुर-३ बाट सर्वसम्मत रूपमा एकल सिफारिस भए पनि श्रेष्ठले सर्लाही ३ रोजेका हुन्।
प्रतिक्रिया