गोरखा– पालुङटार नगरपालिकामा रहेको ऐतिहासिक आँपपिपल अस्पताल यतिबेला गण्डकी प्रदेश सरकारको प्रत्यक्ष हस्तक्षेपका कारण विवादमा परेको छ। एक समय ग्रामीण भेगका नागरिकका लागि जीवनरक्षाको भरोसायोग्य केन्द्र बनेको यो अस्पताल पछिल्लो समय राजनीतिक स्वार्थ, शक्ति दुरुपयोग र व्यक्तिगत पहुँचको अखडा बन्दै गएको स्थानीयको गुनासो छ।
स्थानीय तह मातहत रहँदा तुलनात्मक रूपमा स्थिर देखिएको अस्पताल प्रदेश सरकारको मातहत पुगेपछि समस्या झनै बढ्दै गएको बताइन्छ। अस्पताललाई ‘प्रदेश स्तरीय बनाउने’ नाममा गरिएको संरचनागत परिवर्तनले सेवा सुधार्नुको सट्टा राजनीतिक हस्तक्षेपको ढोका खोलेको आरोप स्थानीयकाे छ। कर्मचारी सरुवा, नियुक्ति, खरिद प्रक्रिया र नेतृत्व चयनमा राजनीतिक प्रभाव हाबी भएपछि अस्पतालको मूल उद्देश्य ‘जनताको स्वास्थ्य सेवा’ ओझेलमा परेको छ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालका प्रशासनिक निर्णयमा चासो राख्नु, म्यासेजमार्फत व्यक्ति विशेषलाई नियुक्त गर्न दबाब दिनु तथा विवादित पात्रहरूलाई पुनः प्रवेश गराउन भूमिका खेल्नु लोकतान्त्रिक शासन प्रणाली र सुशासनका मान्यता विपरीत देखिएकाे कर्मचारीहरू नै दाबी गर्छन्। प्रदेश सरकारबाट अपेक्षित नीतिगत मार्गदर्शनको सट्टा व्यक्तिगत हस्तक्षेप बढेपछि अस्पताल प्रशासन कमजोर बनेको र कर्मचारीहरू समेत दबाबमा काम गर्न बाध्य भएको अवस्था सिर्जना भएको बताइन्छ।
कर्मचारी भर्ना : योग्यता होइन, आफन्त प्राथमिकता
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको आँपपिपल अस्पतालले गत कात्तिक २७ गते विभिन्न पदमा कर्मचारी माग गर्दै सार्वजनिक सूचना आह्वान गरेको थियो। औपचारिक रूपमा हेर्दा यो प्रक्रिया नियमित प्रशासनिक कार्यजस्तै देखिए पनि भित्री रूपमा भने निष्पक्ष प्रतिस्पर्धाका लागि नभई ‘पहिल्यै तय गरिएका’ व्यक्तिलाई नियुक्त गर्न सूचना प्रयोग गरिएको दाबी स्रोतकाे छ।
अस्पतालमा कार्यरत डाक्टरका परिवारका सदस्य, आफन्त र नजिकका मान्छेहरूलाई जागिर दिलाउन सूचनालाई औपचारिकतामा सीमित राखिएको आरोप छ। आवेदन प्रक्रियादेखि अन्तर्वार्तासम्मका चरणहरू पूर्वनिर्धारित ढाँचामा अघि बढाइएको, योग्य र प्रतिस्पर्धी उम्मेदवारलाई पन्छाइएको र सिफारिसवालालाई प्राथमिकता दिइएको गुनासो आएको छ।
याे पनि,
५२ बर्ष अघिकाे त्याे र अहिलेकाे ‘आँपपिपल अस्पताल’
सुशासनको धज्जी उठाउँदै आँपपिपल अस्पतालका निमित्त मेसु डा. मग्राती
आँपपिपल अस्पतालमा चरम बेथिति: औषधि अभावमा सेवा नै बन्द हुने जोखिम
स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा निष्पक्ष र पारदर्शी भर्ना प्रणाली अत्यावश्यक हुन्छ। तर आँपपिपल अस्पतालमा भने योग्यता, अनुभव र आवश्यकता भन्दा पनि ‘को कसको मान्छे’ भन्ने आधारमा नियुक्ति हुने गरेको कर्मचारीहरू बताउँछन्। योग्य जनशक्ति बाहिरिनु र पहुँचवालाको प्रवेश बढ्नु दीर्घकालीन रूपमा अस्पतालकै विश्वसनीयतामाथि प्रश्न खडा गर्ने अवस्था बन्ने स्थानीय बताउँछन् ।
अस्पताल विकास समिति अध्यक्षमा राजनीतिक भागबन्डा
गण्डकी प्रदेश सरकारले केही समयअघि प्रदेशभरिका ११ वटा अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष नियुक्त गर्दा गोरखा अस्पताल र आँपपिपल अस्पताललाई भने नेतृत्वविहीन राख्यो। औपचारिक रूपमा यसलाई ‘प्रक्रियागत ढिलाइ’ भनिए पनि भित्री रूपमा भने यसलाई राजनीतिक भागबन्डाको परिणामका रूपमा हेरिएको छ।
स्रोतका अनुसार मुख्यमन्त्री पाण्डे र एमालेका नेता तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीबीच भएको समझदारीअनुसार गोरखा अस्पताल नेपाली कांग्रेसको भागमा र आँपपिपल अस्पताल एमालेको भागमा पारिएको हो। यही कारण अध्यक्ष नियुक्ति लम्ब्याइएको र अनुकूल वातावरण बनेपछि मात्रै नियुक्ति गर्ने रणनीति अपनाइएको बताइन्छ।
हाल गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री एमालेका कृष्णराज पाठक छन्। एउटै दलका मन्त्री हुँदाहुँदै पनि आँपपिपल अस्पतालमा अध्यक्ष नियुक्ति नगर्नु झनै शंकास्पद देखिन्छ। यसले अस्पताललाई राजनीतिक ‘बार्गेनिङ चिप’ बनाइएको संकेत गर्छ। नेतृत्व नहुँदा प्रशासन कमजोर बन्नु स्वाभाविक हो। नीति निर्णय लम्बिनु, कर्मचारी व्यवस्थापन अस्तव्यस्त हुनु र आर्थिक अनुशासन खुकुलो हुनुको प्रत्यक्ष असर सेवाग्राहीले भोग्नुपरेको छ।
खरिदमा सुशासनको ठाडो उल्लङ्घन
आँपपिपल अस्पतालको खरिद प्रणाली पछिल्लो समय गम्भीर विवादमा परेको छ। आवश्यकताको आधारमा होइन, ‘जहाँ कमिसन आउँछ, त्यहीँबाट खरिद’ गर्ने प्रवृत्ति हाबी भएको आरोप कर्मचारी र स्थानीयस्तरबाट उठ्दै आएको छ। औषधि, उपकरण तथा अन्य सामग्री खरिदमा प्रतिस्पर्धा, पारदर्शिता र गुणस्तरको ख्याल नगरी मनपरी निर्णय हुने गरेको गुनासो छ।
नाम नबताउने सर्तमा एक कर्मचारी भन्छन्, ‘यहाँ २० लाख रुपैयाँसम्मको खरिद सिधै गर्न सकिन्छ। कागज मिलाउने, कोटेसन बनाउने सबै सेटिङ भइसकेको हुन्छ।” यस्तो अभ्यासले सार्वजनिक खरिद ऐन र नियमावलीको ठाडो उल्लङ्घन गरेको जानकारहरूको भनाइ छ। यसको प्रत्यक्ष असर सेवामा देखिएको छ, कहिले आवश्यक औषधि नपाइने, कहिले गुणस्तरहीन सामग्री प्रयोग गर्नुपर्ने अवस्था आउँदा बिरामीहरू मारमा परेका छन्।
मुख्यमन्त्री पाण्डेले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभात सिंह राजपूतलाई मोबाइलमा म्यासेज पठाएर विवादित डाक्टर डा. ईसा जिसीलाई मेडिकल अधिकृतमा नियुक्त गर्न दबाब दिएको स्रोत बताउँछन्। सन्देशको आशय थियाे ‘डा जिसिसहितकाे जसरी पनि नाम निकाल्नु’ भन्ने रहेको जनाइएको दाबी छ। डा. जिसीलाई तत्कालीन अस्पताल विकास समितिले नैतिक आचरण उल्लङ्घन र सेवा अनुशासनको कारण कारबाही गर्दै राजीनामा स्वीकृत गरिसकेको थियो। यति हुँदाहुँदै पनि उनलाई पुनः प्रवेश गराउन सत्ता प्रयोग हुनु गम्भीर विषय भएको हाे ।
डा. जिसी एसडिजिपि डा. सुनिल कुँवरकी श्रीमती हुन्। डा. कुँवरलाई बागलुङस्थित प्रदेश अस्पतालमा सरुवा गरिए पनि उनी अझै आँपपिपलमै कार्यरत छन्।
छात्रवृत्ति करारमा आठौँ तहमा कार्यरत डा. सुजन रोकाले आफ्नी बहिनी शकुन्तलालाई फार्मेसी सहायक पदका लागि आवेदन गराएको घटनाले अस्पतालभित्रको पारिवारिक भर्ती संस्कृतिलाई उजागर गरेको छ। डा. रोका स्वयं केही समयअघि अस्पतालका निमित्त मेसु बनेका थिए, जसले उनीसँग प्रशासनिक पहुँचकाे अनुभव छ ।
खासमा डा. रोका अजिरकोट गाउँपालिकाको भच्चेक आधारभूत अस्पतालमा छात्रवृत्ति डाक्टरका रूपमा छनोट भएका थिए। तर गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री पाठकसँगको पारिवारिक सम्बन्धका कारण उनी आँपपिपलमा कार्यरत हुन पुगेको आरोप छ। नियमअनुसार छात्रवृत्ति डाक्टरले तोकिएको स्थानमै सेवा दिनुपर्ने भए पनि त्यसको उल्लङ्घन खुलेआम भएको छ। यसले अन्य छात्रवृत्ति डाक्टरहरूमा असन्तोष बढाएको छ। एक डाक्टर भन्छन्, ‘हामी दुर्गममा खटिँदा केहीले पहुँचकै भरमा सहर नजिकको अस्पताल रोज्छन्।’
सेवा होइन, सुविधा प्राथमिकता
आँपपिपलमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट बनेर काम गरिसकेका डाक्टरहरूकाे भिड लागेकाे छ। तर उनीहरूमध्ये धेरैले अस्पताललाई प्राथमिकता नदिई घुमघाम र व्यक्तिगत काममै समय बिताउने गरेको आरोप छ। कार्यालय समयमा अनुपस्थित रहने, बिरामीलाई भेट्न नआउने जस्ता गुनासा व्यापक छन्।
अस्पताल भौगोलिक रूपमा सहज र ऐतिहासिक पहिचान बोकेको भएकाले यहाँ बस्न सबैलाई चासो हुने तर सरुवा हुँदा जान नचाहने प्रवृत्ति देखिएको कर्मचारीहरू बताउँछन्। ‘यहाँ बस्दा सुविधा पनि छ, कमाइ पनि,’ भन्ने मानसिकता हाबी भएको आरोप छ।
यसको प्रत्यक्ष मार भने सर्वसाधारणले भोगिरहेका छन्। सेवा लिन आएका बिरामीले डाक्टर नपाएर घण्टौँ कुर्नुपर्ने, कहिलेकाहीँ फर्किनुपर्ने अवस्था सिर्जना भएको छ। ऐतिहासिक आँपपिपल अस्पतालको साख जोगाउन तत्काल संरचनागत सुधार, राजनीतिक हस्तक्षेपको अन्त्य र पारदर्शी व्यवस्थापन आवश्यक रहेको स्थानीयहरूको जोडदार माग छ।
समाचारमा शिर्षक फरक पर्न गएकाले परिवर्तन गरिएकाे छ- सम्पादक
प्रतिक्रिया