+
Search

ताजा अपडेट +

पपुलर +

अजिरकोटकाे क्हेचो गाउँमा घरवास सञ्चालनसम्बन्धी तालिम

पालिका लाइभ
२०८२ पुष २, बुधबार

गोरखा– अजिरकोट गाउँपालिका वडा नं–१ स्थित क्हेचो (घ्याच्चोक) गाउँमा पाँचदिने ‘अतिथि सत्कार, घरवास पर्यटन तथा लज व्यवस्थापनसम्बन्धी तालिम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटिपी) तथा टानले अजिरकोट गाउँपालिकासँगको समन्वयमा दिगो पर्यटनलाई जीविकोपार्जनसँग जोड्ने लक्ष्यसहित पाँचदिने तालिम सञ्चालन गरेको हो ।

क्हेचो गाउँ भौगोलिक दृष्टिसँगै कृषि र पशुपालन क्षेत्रमा राम्रो सम्भावना बोकेको हुँदा प्रकृतिले दिएको उपहारमा थोरै मलजल गर्ने प्रयास गरिएको अजिरकोट गाउँपालिकाका पर्यटनदूत एवम् टानका निवर्तमान उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’मा पर्ने मनासलु पदमार्गको वैकल्पिक गन्तव्य भएको क्हेचो गाउँलाई पनि पर्यटन प्रवर्द्धन गराउँदै ग्रामीण पर्यटन विकास गर्ने योजनाअनुसार कार्यक्रम गरिएको उनले बताए ।

‘आयआर्जनका लागि ग्रामीण पर्यटन मुख्य स्रोत हुन सक्छ’, उनले भने, ‘अबको दिनमा पर्यटन प्रवर्द्धन गर्न मिल्ने स्थानमा आयआर्जनको मुख्य स्रोतको रूपमा हामीले ग्रामीण पर्यटनलाई अगाडि बढाउनुपर्छ ।’ त्यतिमात्र नभई ग्रामीण क्षेत्रमा हुने स्थानीय उत्पादन, कृषि उपज तथा घरेलु सामग्रीको प्रदर्शन र बजारीकरणका लागि पनि तालिम आवश्यक परेको उनको भनाइ छ ।

मंगलबार उद्घाटन गरिएको तालिममा टानका केन्द्रीय सदस्य एवम् तालिम विभागका सहसंयोजक अम्बिरबहादुर गुरुङ, अजिरकोट गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेल, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, वडा नं–१ का अध्यक्ष मनोज गुरुङ, टानकी केन्द्रीय सदस्य पवित्रा तामाङ, परियोजना संयोजक युवराज लामालगायत उपस्थित थिए ।

तालिममा अजिरकोट गाउँपालिकाका पाँचवटै वडाबाट प्रतिनिधिका रूपमा सहभागी २५ जनालाई अजित आचार्यले प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ