+
Search

ताजा अपडेट +

पपुलर +

कुमारी घरको छानो जीर्णोद्धारका लागि १.२५ करोड लागत, प्रक्रिया तत्काल सुरु गर्न निर्देशन

पालिका लाइभ
२०८२ कार्तिक २७, बिहीबार

काठमाडौं- कुमारी बहाल (कुमारी घर) को छानो जीर्णोद्धार गर्न १ करोड २५ लाख ४७ हजार ८६४ रुपैयाँ लागत अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ का दररेट अनुसार झिँगटी, पर्खाल, काठ लगायतका छानासम्बन्धी अवयवहरूको मर्मतका लागि यो रकम आवश्यक पर्ने बताइएको छ।

कुमारी घरको छानो चुहिने समस्या देखिएपछि प्राविधिक अध्ययन गर्न साउन २० गते समिति गठन गरिएको थियो। समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा साझेदार निकायका अधिकारीहरूसँग बैठक सम्पन्न भयो।

उपप्रमुख डंगोलले बैठकमा भनिन्: ‘पुनः निर्माण गर्दा यसको सामाजिक, धार्मिक तथा सांस्कृतिक पक्ष, स्वामित्व लगायत विषयमा विवाद सिर्जना हुनुहुँदैन। यसका लागि सबै पक्ष सहभागी गराएर विज्ञहरूको निगरानी समिति गठन गर्नुपर्छ। पुनः निर्माणमा कुनै द्विविधा भए वा समस्या आए तत्काल समाधान दिन सक्ने निकायगत समन्वय संयन्त्र बनाउनु पर्छ। मौसम प्रतिकूल हुनुअघि कुमारी घरको छानो जीर्णोद्धार गरिसक्नु पर्नेमा जोड दिन्छु।’

बैठकमा गुठी संस्थान, पुरातत्त्व विभाग, हनुमानढोका दरबार संग्रहालय विकास समिति र महानगरपालिकाको सम्बन्धित विभागका प्रमुखहरू सहभागी थिए।

अध्ययन समितिको प्रतिवेदन अनुसार, कुमारी घरको तीनै तलाको पर्खालमा चिरा परेको, केही धाम र मेथ खाल्डो छोड्ने अवस्थामा रहेको, कतिपय काठ मक्किएको र दलिनहरू कीराले खाएको अवस्था रहेको छ। दोस्रो तलामा सिसाले छोपिएको भित्ते चित्र जोगाउनुपर्ने आवश्यक छ। झिँगटी छानो धसिएको, धुरी चाङ्ग फुटेको, मुठल र झिगटी खसिसकेको, नस मक्किएको वा कमजोर भएको, गजुरको बेस मर्मत गर्नुपर्ने र पर्खाल तथा फलेकहरू जीर्ण भएको देखिएको छ।

प्रतिवेदनले श्री कुमारी पूजालाई अक्षुण्ण राख्दै, खट बाँधेर बिस्तारै भत्काउने र सामग्री सुरक्षित राखेर अधिकतम पुनः प्रयोग गर्ने सुझाव दिएको छ। छानामा प्लास्टिक फेल्ट लगाउने, मक्किएका मुसी, लाकासी र फलेक आवश्यकता अनुसार थप गर्ने सल्लाह पनि प्रतिवेदनमा समावेश छ।

२०७२ सालको भूकम्पले हनुमानढोका दरबार क्षेत्रमा १० वटा संरचना ध्वस्त र कुमारी बहालसहित २१ वटा संरचना आंशिक क्षतिग्रस्त गरेको थियो। त्यतिबेला तत्काल मर्मत नहुँदा बहालमा क्षति बढेको र मर्मतमा टिकाउ सामग्री प्रयोग नहुँदा संरचना कमजोर भएको प्रतिवेदनमा उल्लेख छ।

कुमारी घर १८१४ मा राजा जयप्रकाश मल्लकालमा निर्माण भएको हो।

हनुमानढोका दरबार परिसरमा अवस्थित यो नेवारी शैलीको तीन तले घर झिंगटी छाना, कलात्मक झ्याल, मेथ, थाम र भित्ते चित्रले सुसज्जित छ। प्रवेशद्वारमा प्रस्तरका जोर सिंह र भित्री भागमा खुला चोक (बहाल) रहेको छ। कुमारी घर जीवित देवी श्री कुमारीको निवास स्थल भएकोले यसको संरक्षण ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ