काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित निर्वाचनका लागि आवश्यक सबै स्रोत–साधन उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्वाचन आयोगका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री कार्कीले सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित रहेको बताइन्।
‘निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सबै वातावरण तयार पार्छ। आवश्यक स्रोत–साधनका बारेमा आयोगले जानकारी गराए सरकार तुरुन्त सहयोग गर्न तयार छ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए।
आयोगका पदाधिकारीहरूले भेटका क्रममा अहिलेसम्मको कार्यप्रगति, कार्यतालिका र तयारीका बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी फागुन २१ गतेका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलहरूको सहयोगबारे पनि छलफल भएको थियो।
आयोगले स्वच्छ, निष्पक्ष र मितव्ययी निर्वाचन सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गर्दै आवश्यक स्रोत–साधनको व्यवस्था र परिचालनका लागि सरकारसँग सहयोगको अपेक्षा गरेको जनाएको छ।
पदाधिकारीहरूले निर्वाचनसम्बन्धी विषयमा राजनीतिक दलहरूसँग पनि छलफल गर्ने तयारी भइरहेको जानकारी प्रधानमन्त्रीलाई गराएका थिए।
गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको हो। सोही सरकारको नेतृत्वमा प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ। मतदाता नामावली संकलनका लागि अध्यादेश जारी भइसकेको छ भने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ।
प्रतिक्रिया