+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार सम्मेलन:

हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ : महेश बस्नेत

जेनजी आन्दोलन सम्बन्धी उजुरीपछि एमाले नेताको प्रतिवाद, सम्पत्ति छानबिनमा निष्पक्षता माग

पालिका लाइभ
२०८२ आश्विन २२, बुधबार

काठमाडौं– नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका छन्।

बुधवार च्यासलस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले सरकारलाई चुनौती दिएका हुन्।

बस्नेतले भने, ‘यदि सरकारले ओलीलाई दोषी ठानेको छ भने प्रमाणसहित पक्राउ गरेर देखाओस्।’ उनले आधारविहीन आरोप र राजनीतिक बदनाम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने पनि बताए।

हालै ‘जेनजी युवा आन्दोलन’मा दमन गरिएको आरोपमा केही अगुवाहरूले बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरी प्रहरीमार्फत गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाइएको थियो। सो घटनापछि उनले ओलीको पक्षमा वक्तव्य दिएका हुन्।

दलका नेताहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा असन्तुष्टि जनाउँदै बस्नेतले युवाको समर्थनमा सत्तामा पुगेकाहरूमाथि पनि छानबिन हुनुपर्ने बताए।

उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङको नाम लिएर उनीहरूबाटै अनुसन्धान सुरु गर्न सुझाव दिए।

अन्य नेतामाथि प्रमाणबिनै भ्रष्टाचारको आरोप लगाउन नहुने बताउँदै बस्नेतले भने, ‘हामी पूर्ण निर्दोष होइनौँ, तर प्रमाणबिनै आरोप लगाउन मिल्दैन। यदि म दोषी ठहरिएँ भने कारबाही गर्नुपर्छ, नभए निराधार आरोप उचित हुँदैन।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ