काठमाडौं– माओवादी केन्द्रको स्थायी समिति बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिहीबार बस्ने केन्द्रीय समिति बैठकमा फरक मत राख्न पाउनु पर्ने माग उठाएका छन्।
प्रचण्डले समयको अभाव देखाउँदै फरक प्रस्ताव राख्न अस्वीकार गरेपछि बैठकमा सवाल–जवाफ भएको छ।
स्थायी समिति बैठकमा प्रचण्डले आगामी केन्द्रीय समिति बैठकका लागि ९ वटा एजेन्डा पेश गरेका थिए।
उपमहासचिव जनार्दन शर्माले फरक प्रस्तावमाथि छलफल गर्न कम्तीमा दुई दिन आवश्यक भएको औँल्याए। नारायणकाजीले पनि वरिष्ठ उपाध्यक्षको हैसियतले फरक प्रस्ताव उठाउने अधिकार हुनुपर्ने बताए।
बैठकमा प्रचण्डले बैठक एक दिनभन्दा बढी लम्ब्याउन नसकिने भन्दै समूहगत रूपमा एजेन्डा ल्याउन निर्देशन दिए। स्थायी समिति बैठकमा प्रचण्डले पेस गरेका ९ वटा एजेन्डा अनुमोदन गर्दै सम्पन्न भएको छ। अनुमोदित एजेन्डामा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्तावमाथि छलफल गर्ने, विशेष महाधिवेशन गर्ने, फागुन २१ गते आम निर्वाचन, पार्टी एकता र ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन र जनसम्बन्ध लगायत रहेका छन्।
बैठकपछि उपमहासचिव हरिबोल गजुरेलका अनुसार, प्रचण्डकै नेतृत्वमा विशेष महाधिवेशनमा जाने प्रस्ताव भोलिको केन्द्रीय समितिमा पेश हुनेछ, तर अन्य विषयमा छलफल भएन।
प्रतिक्रिया