+
Search

ताजा अपडेट +

पपुलर +

सरकारी खर्च कटौति योजना:

विदेश भ्रमणमा कडाइ, भ्रमण टोलीको आकार पनि तोकियो

फाइल तस्बिर : अन्तरिम सरकारको असोज ५ मा बसेको मन्त्रिपरिषद बैठक
पालिका लाइभ
२०८२ आश्विन ८, बुधबार

काठमाडौं– सरकारले अनावश्यक विदेश भ्रमण रोक्नेगरी नयाँ निर्णय गरेको छ ।

अन्तरिम सरकारको ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयका अनुसार, सरकारले चालु खर्च घटाउन अनावश्यक भ्रमणमा रोक लगाउने भनेको छ ।

‘सरकार, प्रदेश सरकार र स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाउने सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिने,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भ्रमण टोलीको संख्या सीमा तोक्ने निर्णयमा भनिएको छ, ‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने ।’

सरकारले संघ र प्रदेश सरकारका मन्त्री लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा अलग्गै कार्यकक्ष उपलब्ध नगराउने भएको छ । साथै स्वकीय सचिवालयका कर्मचारीका लागि सवारी साधन, वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि नदिने निर्णय सरकारले गरेको छ ।

सरकारले अत्यावश्यक बाहेकका तालिम, गोष्ठी तथा सेमिनार सञ्चालन नगर्ने निर्णय गरेको छ ।

सरकारले ‘यदि सञ्चालन गर्ने पर्ने अवस्थामा सरकारी हलहरूमा र सम्भव भएसम्म अनलाइन तालिम गोष्ठी जस्ता कार्यक्रम सञ्चालन गर्ने’ भनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ