काठमाडौं- माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी माग गरेका छन् । उनले काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमै यस्तो आग्रह राखेका हुन् ।
बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी र केन्द्रीय समिति भंग गरेर आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । तर, त्यसपछि बोलेका श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नभएको दाबी गर्दै, निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने धारणा राखे ।
श्रेष्ठले प्रचण्डले अहिले नै नेतृत्व छाडेर आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने मागसमेत राखे । नेताहरूका अनुसार, श्रेष्ठले भने, ‘अध्यक्ष कमरेड प्रचण्डले अहिले नै अध्यक्ष छोडेर मलाई कार्यवाहक अध्यक्ष दिनुस् । यो मेरो व्यक्तिगत माग होइन, कार्यकर्ताको आवाज हो ।’
यसअघि आइतबार बसेको पदाधिकारी बैठकमै श्रेष्ठले कार्यवाहक अध्यक्षको माग गरेका थिए । उपमहासचिव जनार्दन शर्माका अनुसार, उक्त बैठकमा श्रेष्ठले कार्यवाहक दिन आग्रह गरेपछि आफूले पनि दुई महिनाका लागि कार्यवाहक अध्यक्ष दिनुमा कुनै समस्या नहुने धारणा राखेका थिए ।
शर्माले महाधिवेशनसम्म वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने र त्यसपछि अध्यक्ष प्रचण्डसहित वर्तमान सम्पूर्ण पदाधिकारीले नेतृत्वबाट हट्नुपर्ने प्रस्ताव सार्वजनिक रूपमा राखेका छन् । उनका अनुसार, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी पार्टीलाई थप बलियो बनाउन सकिनेछ ।
माओवादी केन्द्रको बैठकमा अब अन्य पदाधिकारीले आ-आफ्ना धारणा राख्नेछन् । त्यसपछि प्रदेश अध्यक्षको रिपोर्टिङ र समूहगत छलफल हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया