धादिङ– बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ ।
मंगलबार बिहान करिब ५:४० बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो । जामका कारण यात्रुहरू अलपत्र परेका थिए ।
झन्डै १० घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले बताए ।
ठुलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।
त्यसैगरी मुग्लिन-नारायणघाट सडकको तुइन खोला नजिक भने ढुंगा खस्ने क्रम नरोकिएपछि दिउसो १ बजेदेखि नै सडक बन्द रहेको छ ।प्रहरीले यात्रामा रहेका यात्रुलाई आफूलाई पायक पर्ने ठाउँमा सुरक्षित भएर लेन अनुशासन कायम गरी बसिदिन अनुरोध गरेको छ ।
प्रतिक्रिया