काठमाडौं– सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ७० मेगावाट क्षमताको अर्धजलासय दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजना निर्माण हुने भएको छ । उक्त आयोजना निर्माणका लागि तीन वाणिज्य बैंक र दुधकोशी हाइड्रोपावर नेपाल प्रालिबीच सम्झौता भएको छ ।
लक्ष्मी सनराइज बैंकले अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र दुधकोशी हाइड्रोपावर नेपाल लगानी गर्ने सम्झौता सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत १५ अर्ब रुपैयाँ रहेको छ ।
सहभागी बैंकहरुले परियोजना लागतको ७० प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् भने बाँकी ३० प्रतिशत रकम सो कम्पनीका संस्थापकबाट लगानी हुनेछ । सहवित्तियकरणमा एभरेस्ट बैंक सह-अगुवा बैंक र सानिमा बैंक सदस्य बैंकको रूपमा रहेका छन् । कूल प्रोजेक्ट फाइनान्स १० अर्ब ५० करोड रहनेछ ।
कम्पनीको मुख्य प्रवर्द्धकको रूपमा आयु मलुन हाइड्रोपावर ली, कदम केसी, किरण मल्ल, अभिज्ञा मल्ल, विक्रम गौतम, विकास गौतम, अरुण अग्रवाल, नरेन्द्र गुप्ता, डा. हिमाल भट्टराई तथा विभिन्न प्राइभेट इक्विटी भेन्चर क्यापिटल रहेका छन् ।
दुधकोशी-२ (जलेश्वर) जलविद्युत आयोजनाले २०७७ साल असोज ७ गते नै विद्युत् विकास विभागबाट विद्युत् उत्पादनको अनुमति लिएको थियो । जसले २०७८ साल मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।
यो आयोजना जुलाई २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत् उत्पादन गर्ने तयारी थालिएको छ ।
उत्पादनपछि वार्षिक करिब ४१७ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै देशकै ठुलो स्वतन्त्र ऊर्जा उत्पादकको मध्यको रूपमा रहने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया