+
Search

ताजा अपडेट +

पपुलर +

विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयमता अपरिहार्य : मुख्यमन्त्री पाण्डे

फाइल तस्बिर
पालिका लाइभ
२०८२ भाद्र २६, बिहीबार

पोखरा– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकलाई विषम परिस्थितिबाट पार लगाउन संयमता, संवाद र एकताको बाटो मात्र विकल्प भएको बताएका छन्।

शुक्रवार सार्वजनिक विज्ञप्तिमार्फत मुख्यमन्त्री पाण्डेले अहिले मुलुक अप्ठ्यारो मोडमा रहेको भन्दै यसलाई सामना गर्न सबै तह–तप्काबाट सहयोग आवश्यक रहेको स्पष्ट पारे। उनले भने, ‘विषम परिस्थितिबाट मुलुकलाई पार लगाउन संयम, संवाद र एकताको बाटो नै एक मात्र विकल्प हो। भावनामा बगेर वा असहिष्णुताले समस्या झनै जटिल हुन्छ। त्यसैले सबैले धैर्यता र सहनशीलता अपनाउनुपर्छ।’

मुख्यमन्त्री पाण्डेले हालै राष्ट्रपति रामचन्द्र पौडेलले अघि बढाएको संवाद पहललाई स्वागत गरेका छन्। उनले राष्ट्रपति स्तरबाट भएको प्रयास मुलुकलाई दीर्घकालीन समाधानतर्फ लैजान सक्ने विश्वास व्यक्त गर्दै राजनीतिक दल, नागरिक समाज, सञ्चार जगतलगायत सबै क्षेत्रबाट यसलाई सफल बनाउन सक्दो योगदान आवश्यक रहेको उल्लेख गरे।

‘संवाद र सहकार्यकै माध्यमबाट वर्तमान चुनौती पार गर्न सकिन्छ। यसका लागि दलहरूबीच विश्वास र जनतामाझ स्पष्ट जवाफ दिन सक्ने क्षमता जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ।

मुख्यमन्त्री पाण्डेले युवापुस्ताको आकांक्षा र भावनालाई सम्बोधन गर्न राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिए। उनका अनुसार युवाले चाहेको परिवर्तन र भविष्यको आशा पूरा गर्न सकेन भने असन्तुष्टि चुलिने खतरा रहन्छ। उनले भने, ‘युवापुस्तालाई निराश बनाउन पाइँदैन। उनीहरूको भावना, सोच र योगदानलाई सम्मान गर्दै प्रणालीलाई सबल बनाउनुपर्छ।’

त्यसैगरी, उनले संवैधानिक रिक्तता वा शून्यता सिर्जना हुन नदिने गरी कदम चाल्नुपर्ने चेतावनी पनि दिए। उनका अनुसार कानुनी व्यवस्था, संवैधानिक मर्म र लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिएर मात्र स्थिरता र समाधान सम्भव हुन्छ। ‘वैधानिक र लोकतान्त्रिक बाटोबाट मात्रै दीर्घकालीन समाधान खोज्न सकिन्छ। अन्यथा मुलुक फेरि संकटमा पर्न सक्छ,’ उनले भने।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश मात्र होइन, समग्र मुलुककै राजनीतिक अवस्थाले जनजीवनमा असर पारिरहेको भन्दै सबै दलले आपसी प्रतिस्पर्धाभन्दा पनि सहकार्यलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनका अनुसार राजनीतिक सहमति र साझा प्रतिबद्धता बिना विकास, सुशासन र स्थिरता असम्भव हुन्छ।

उनले विज्ञप्तिमा सरकारको प्राथमिकता पनि स्पष्ट पारेका छन्। ‘वर्तमान अवस्थामा जनताका समस्या सम्बोधन गर्दै शान्ति, स्थिरता र विकासतर्फ केन्द्रित हुनु नै हाम्रो पहिलो कर्तव्य हो। यसका लागि प्रदेश सरकार प्रतिबद्ध छ,’ उनले भने।

मुख्यमन्त्री पाण्डेले सबैलाई आह्वान गर्दै भने, ‘देशले भोगिरहेको चुनौती गम्भीर छ। तर यसको समाधान सम्भव छ। त्यसका लागि हामी सबैले मिलेर अघि बढ्नुपर्छ। कुनै पनि मतभेदलाई संवादकै माध्यमबाट हल गर्नुपर्छ। यही नै हाम्रो साझा जिम्मेवारी हो।’

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ