काभ्रे- बिपी राजमार्गअन्तर्गत काभ्रे खण्डमा आइतबार (असार २२) देखि एक महिनासम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म हरेक साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइनेछ।
मनसुन सक्रिय भई बाढीपहिरोको जोखिम बढेकाले विपद् न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको कार्यालयले जनाएको छ।
यसअघि असार ७ गतेदेखि १५ दिनका लागि यही खण्डमा राति सवारी रोक लगाइएको थियो। सो निर्णय काभ्रे, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा निकायबीचको समन्वयमा गरिएको थियो।
काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले मनसुनजन्य विपद्का कारण बाढीपहिरोको सम्भावना रहेकाले यो कदम आवश्यक भएको बताए।
उनका अनुसार काठमाडौंबाट जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको नेपालथोकमा रोक लगाइनेछ।
गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको करिब आठ किलोमिटर सडक भाग बगाएको थियो।
बिपी राजमार्ग पूर्वी नेपाल जोड्ने महत्वपूर्ण मार्ग हो, जसबाट दैनिक हजारौँ सवारीसाधन सञ्चालनमा रहने गर्दछन्।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १६० किमी लम्बाइको बिपी राजमार्गमा सबभन्दा बढी क्षति तेस्रो र चौथो खण्डमा पुगेको छ।
खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किमी गरी ८४ किमी सडकमा बढी क्षति भएको छ।
सडक पुनर्निर्माणका लागि चार खण्डमा ठेक्का प्रक्रिया अगाडि बढाइएको छ।
प्रतिक्रिया