+
Search

ताजा अपडेट +

पपुलर +

ओलाङ सामुदायिक होमस्टे : 

‘सपना हेर्न सहर जानुपर्दैन, गाउँमै केही गर्न सकिन्छ’

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र आत्मीयता खोज्नेहरूका लागि ओलाङ अब आकर्षक र आत्मनिर्भर पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ। यहाँको यात्रा अलिक कठिन हुन सक्छ, तर यहाँ पाइने अनुभव, सत्कार र मौलिकता त्यति नै अनुपम र अविस्मरणीय हुन्छ।यदि तपाईंले प्राकृतिक शान्तता, मौलिक संस्कृति, र ग्रामीण जीवनको सहयात्रा खोजिरहनु भएको छ भने, ओलाङ तपाईंका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

लीलाधर काेइराला
२०८२ जेष्ठ ३०, शुक्रबार

खरिबाेट– साँघुरो गोरेटो हुँदै पाहुनाहरू चढ्दै आउँछन्- कहिले हिँडेरै, कहिले सवारी साधनमार्फत। बाटो सहज छैन, तर त्यहाँ पुग्ने बित्तिकै देखिने हरियाली, शान्त वातावरण, अनि घरैपिच्छे देखिने पारम्परिक झ्यालढोका र काठका झ्यालहरू पाहुनालाई चुमेर स्वागत गर्छन्। यस्तै आत्मीय स्वागतका लागि अजिरकाेट गाउँपालिका वडा न २ खरिबाेट ओलाङकी महिलाहरू बिहान सबेरैदेखि जुटिरहेका हुन्छन्- घरसफा गर्दै, अर्ग्यानिक तरकारी टिप्दै, रोटी तताउँदै, अनि पाहुनालाई मुस्कानसाथ स्वागत गर्न तयार हुँदै। याे चेपे करिडाेरकाे गाेरखा पट्टिकाे अन्तिम गाउँ हाे ।

यसै होमस्टे प्राङ्गणमा भेटिएकी हुन् – अध्यक्ष एलिना गुरुङ। उनी मुस्कुराउँदै भन्छिन्, ‘हामी पहिला पाहुनालाई हेर्दा तथा देख्दा डर लाग्थ्यो। न त बोल्न आउँथ्यो, न त सेवा गर्नको अनुभव। तर अहिले त पाहुनासँगै गफ पनि गर्छौँ, परिकार पनि तयार पार्छौँ। गाउँकै माटोले अब रोजगारी दिएको छ।’

उनीप्रतिको समुदायको विश्वास र अगुवाइको पनि चित्र हो। अध्यक्ष एलिना अहिले १३ घरधुरीलाई नेतृत्व दिँदै छिन्, जसअन्तर्गत प्रत्येक घर पालो अनुसार पाहुनालाई सेवा गर्छन्। ‘साझेदारी’ मार्फत ओलाङको होमस्टे संस्कृतिको मूल आधार बनिसकेको छ।

‘पहिला हाम्रो गाउँ चुलोचौकाभन्दा बाहिर सोच्न सकेको थिएन,’ एलिना थप्छिन्, ‘तर अहिले हामी योजना बनाउँछौँ, पाहुनाको फिडब्याक सुन्छौँ, भोलिका लागि नयाँ विचार ल्याउँछौँ। साँचो अर्थमा अब हामी गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढिरहेका छौँ।’

सुरुमा गाउँपालिकाले पर्यटन प्रवर्द्धनको उद्देश्यसाथ अनुदान दिँदा धेरैलाई लाग्यो- ‘के साँच्चै सम्भव होला त?’ तर जब गाउँपालिकाको कार्यपालिका बैठक नै ओलाङको होमस्टेमा बस्यो, त्यतिबेला गाउँलेहरूमा गर्वको भावना जाग्यो। ‘हाम्रो गाउँमा सरकार आफैँ आएर बसेको छ,’ एलिना भन्छिन्, ‘त्यसले हामीलाई ठुलो प्रेरणा दियो।’

गाउँपालिका उपाध्यक्ष अनिता भुजेलका अनुसार, ‘गाउँमै पर्यटन सम्भावना खोजेर महिलालाई रोजगारी र आत्मनिर्भर बनाउने उद्देश्यले होमस्टे कार्यक्रम सुरु गरिएको हो,’ उनी भन्छिन्, ‘हामी यस्ता होमस्टेहरूलाई तालिम, बजेट र प्रवर्द्धनको हिसाबले निरन्तर साथ दिने नीति तथा कार्यक्रममा नै समेटेर जाने योजना बनाएका छौँ ।”

ओलाङको सामुदायिक होमस्टे परियोजनाले केवल आर्थिक आय मात्रै गरेको छैन, यहाँका महिलाहरूको सामाजिक भूमिका समेत बढाएको छ। उनीहरू अब बैठकमा बोल्न जान्ने भएका छन्, पाहुनासँग लाज नमानी कुराकानी गर्न सिकेका छन्, स्वच्छता र आतिथ्यका मापदण्ड बुझ्न थालेका छन्। ‘हामी सामूहिक तालिम लिएका छौँ,’ एलिना बताउँछिन्, ‘केही समय अघि स्याङ्जाको सिरूवारी लगायतका ठाउँका होमस्टे अवलोकन गर्न पालिकाको सहयोगमा गएका थियौँ, त्यहाबाट पनि पाहुनालाई कसरी मुस्कानसाथ स्वागत गर्ने, कसरी शुद्ध खाना दिने, अनि कसरी गाउँको संस्कृति देखाउने भन्ने कुरा सिकैं।’

यो परिवर्तनले गाउँका किशोरीहरूलाई पनि प्रेरित बनाएको छ। ‘पहिला त सबै जना शहर जान चाहन्थे,’ अर्कि हाेमस्टे सञ्चालक जुनिमाया तामाङ भन्छिन्, ‘अहिले त गाउँमै केही गर्न सकिन्छ भन्ने महसुस भयो।’ युवाहरू पनि यसमा सहभागी हुन थालेका छन्, कोही पाहुना व्यवस्थापनमा, कोही गाइडका रूपमा अनि कोही कला-संस्कृति प्रदर्शनमा।’

ओलाङका १३ घरधुरी अहिले स्थानीय उत्पादनमा आधारित खानपिन, मौलिक कोठा सजावट र गाउँको संस्कृति प्रदर्शित गर्ने ढंगमा होमस्टे सञ्चालन गरिरहेका छन्। पाहुनालाई ढिँडो, गहुँको रोटी, लोकल कुखुराको मासु, स्थानीय अचार आदिको परिकार दिइन्छ। कोठाहरू बाँस, माटो र काठको प्रयोग गरेर सजाइएको हुन्छ- जहाँ शान्ति, मौलिकता र ऊर्जा महसुस हुन्छ।

तर चुनौती छैनन् त? ‘छ, पक्कै छन्,’ अर्कि सञ्चालक सुनमाया गुरूङ भन्छिन्, ‘जस्तै नियमित पाहुना ल्याउनु, हाम्रो कार्यक्रमलाई टुर एजेन्सीसँग जोड्नु, इन्टरनेट र सडकजस्ता पूर्वाधार सुधार गर्नु यी सबै  हाम्रा लागि अनिवार्य आवश्यकता हो।’ तर उनी डराउँदिनन्, भन्छिन् ‘हामी चालु बाटोमा छौँ, अहिलेलाई सक्दो प्रयास गरिरहेका छौँ, सिक्दै छौँ। भोलि अझ राम्रो गर्छौँ।’

अहिले होमस्टे परियोजनाले गाउँको सामाजिक सञ्जालमा सकारात्मक ऊर्जा ल्याएको छ। महिलाहरूको आत्मबल बढेको छ, परिवारको सहयोग जुटेको छ र गाउँकै युवाहरूले पनि अब सम्भावनालाई देख्न थालेका छन्। ओलाङको यो यात्रा एउटा सानो गाउँको आमूल परिवर्तनको कथा हो, जहाँ गाउँलेहरू भन्छन्, ‘सपना हेर्न सहर जानुपर्दैन, सपना पूरा गर्न गाउँमै केही गर्न सकिन्छ।’

ओलाङ गाउँ गुरुङ र तामाङ समुदायको समावेशी बसोबास रहेको एक बस्ती हो। यहाँ यी दुई जातीय समुदायबीच आपसी मेलमिलाप, सांस्कृतिक आदान–प्रदान र सामुदायिक जीवनशैलीको अनुपम उदाहरण देख्न पाइन्छ। २०७२ काे भुकम्पले सबैभन्दा धेरै क्षति पुर्याएकाे यो गाउँमा त्यसपछि वस्ति नै खाली हुन थालेको थियो, अहिले हाेमस्टेका कारण मान्छेहरू फेरि फर्कन थालेका छन् ।

सांस्कृतिक दृष्टिले मात्रै होइन, पछिल्लो समय ओलाङ ऊर्जा विकासका कारण पनि चर्चामा आएको छ। यस गाउँमा हाल करिब १६ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण भइसकेको छ। यसबाहेक, २०६० सालदेखि नै यहाँ स्थानीयस्तरमा लघुजलविद्युत परियोजना सञ्चालनमा रहेको छ, जसले गाउँलेहरूलाई आवश्यक विद्युत आपूर्ति गर्दै आएको छ।

पर्यटकहरू ओलाङ पुगेपछि केवल सांस्कृतिक र प्राकृतिक शान्तता मात्र होइन, आधुनिक सुविधाहरू पनि उपभोग गर्न सक्छन्। गाउँमा इन्टरनेट वाइफाइ सेवा उपलब्ध छ, शीतल हावापानी, हरियाली वातावरण र ग्रामीण शान्त परिवेशले यहाँको बसाइ थप आनन्ददायक बनाउँछ।

कसरी पुग्न सकिन्छ

ओलाङ पुग्नका लागि राजधानी काठमाडौं, पोखरा वा चितवनबाट यात्रा सुरु गर्न सकिन्छ। यी शरहरूबाट गोरखा बजार नपुग्दै १२ किलोबजार हुँदै सिधै अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेक बजारसम्म पुग्न सकिन्छ। त्यसपछि नम्कि, सिरान डाँडा, सिस्ने, अपुन र खिप्पु हुँदै ओलाङ पुग्ने यात्रा सुरु हुन्छ। भने अर्को बाटो हंसपुर, खरिबाेट, केप्रुङ, अपुन, खिम्पु हुदैं पनि आउन सकिन्छ ।

काठमाडौंको नयाँ बसपार्कबाट भच्चेक बजारसम्म दैनिक मिनिबस र हाइएस सेवा सञ्चालनमा छन्। गोरखा बजारसम्मको यात्रा करिब ४ देखि ५ घण्टासम्म लाग्छ भने त्यसपछि भच्चेकसम्म ४२ किलोमिटर हो । यहाँबाट करिब ९ किलोमिटरमा ओलाङ पुग्न सकिनछ भने यहाँ पुग्न स्थानीय जिप वा मोटरसाइकलमार्फत पुग्न सकिन्छ। यद्यपि यो खण्डको सडक कच्ची भएकाले विशेषगरी वर्षायाममा यात्रा कठिन हुनसक्छ।

भच्चेकदेखि ओलाङसम्मको दूरी धेरै लामो छैन । हाल यो सडक मार्गको स्तरोन्नति कार्य भइरहेको छ। मोटरसाइकल वा जिप प्रयोग गरेर पनि यहाँ पुग्न सकिन्छ। यही गोरेटो यात्रा गर्दै गर्दा यात्रुहरूले हरियालीले भरिएको प्राकृतिक वातावरण, शान्तता, र गाउँको आत्मीयता अनुभव गर्न थाल्छन्।

ओलाङ पुग्ने बित्तिकै पाहुनाको स्वागतमा गाउँले महिलाहरू परम्परागत पहिरनमा सजिएर प्रस्तुत हुन्छन्। उनीहरूले तयार पारेका मौलिक परिकार, आत्मीयता र संस्कृति झल्किने व्यवहारले पाहुनालाई मन छुन्छ। पाहुनाले गाउँको जीवनशैली, खानपान, रहनसहन र सांस्कृतिक अभ्यासहरू प्रत्यक्ष रूपमा अनुभूत गर्न पाउँछन्।

ओलाङ सामुदायिक होमस्टे परियोजनाले ग्रामीण पर्यटनको अवधारणा सार्थक बनाउँदै आएको छ। यसले न केवल स्थानीय उत्पादन र परम्परालाई जगेर्ना गरिरहेको छ, बरु गाउँमै रोजगारीको अवसर सिर्जना गरेर युवाहरूलाई पनि गाउँमै व्यस्त राखेको छ।

प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र आत्मीयता खोज्नेहरूका लागि ओलाङ अब आकर्षक र आत्मनिर्भर पर्यटन गन्तव्यको रूपमा स्थापित हुँदैछ। यहाँको यात्रा अलिक कठिन हुन सक्छ, तर यहाँ पाइने अनुभव, सत्कार र मौलिकता त्यति नै अनुपम र अविस्मरणीय हुन्छ।

यदि तपाईंले प्राकृतिक शान्तता, मौलिक संस्कृति, र ग्रामीण जीवनको सहयात्रा खोजिरहनु भएको छ भने, ओलाङ तपाईंका लागि उपयुक्त गन्तव्य बन्न सक्छ।

प्रतिक्रिया

लेखकको बारेमा

लीलाधर काेइराला