काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ ।
आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्रीले तय गरेका कार्यक्रम र लक्ष्य हेर्दा १९ खर्बभन्दा माथिको महत्वाकांक्षी बजेट आउने देखिन्छ।
उनले सत्ता सहयात्री दलदेखि सांसद, मध्यम वर्ग र निजी क्षेत्रलाई मख्ख गर्ने नीति अख्तियार गरेका छन्।
राजनीतिक विरोध मत्थर पार्न अर्थमन्त्री पौडेलले विवादास्पद सांसद विकास कोषलाई घुमाउरो तरिकाले बजेटमा राखेका छन्। यसका लागि सांसदबाट आ-आफ्नो क्षेत्रका लागि आयोजना माग गरिएको थियो।
ठूला सडक आयोजनामा निजी लगानी आकर्षित गर्न सार्वजनिक-निजी साझेदारी बुट मोडलमार्फत लगानीका लागि बाटो खोल्ने भएको छ।
यसले सरकारको वित्तीय भार घटाउनुका साथै पूर्वाधार विकासमा गति प्रदान गर्नेछ। जीर्ण सार्वजनिक संस्थान निजी क्षेत्रलाई हस्तान्तरण गर्ने र मौद्रिकीकरण गर्ने कार्यक्रम बजेटमा परेको छ।
ढुंगा, गिट्टी र बालुवा निर्यातको नीति अर्थमन्त्रीले अख्तियार गरेका छन्। मध्यम वर्गलाई आकर्षित गर्न करका स्ल्याबमा हेरफेर गर्न लागेको स्रोतले बतायो। अहिले वार्षिक ५ लाखसम्मको आयमा १ प्रतिशत कर लाग्दै आएको छ भने ५० लाख आम्दानी गर्नेहरूले ३९ प्रतिशतसम्म आयकर तिर्दै आएका छन्।
प्रतिक्रिया