+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक

प्रतिनिधिसभाको बैठक अवरुद्ध, विपक्षी दलले मागे गृहमन्त्री लेखकको राजीनामा

पालिका लाइभ
२०८२ जेष्ठ १३, मंगलवार

काठमाडौं- संसद्का विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरूले राजीनामा मागेका हुन् ।

सभामुख देवराज घिमिरेले बैठकको आजको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरेका थिए । त्यसपछि सभामुखले प्रमुख प्रतिपक्षी दलका सांसद वर्षमान पुनलाई बोल्न दिएका थिए ।

पुनले सञ्चारमाध्यममा मात्र नभई घरघरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा करोडौँ असुलेर मानव तस्करी गरिएको विषयको चर्चा भइरहेको बताए ।

उनले यो प्रकरणको निष्पक्ष छानबिनका लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरे । राजीनामा नदिएसम्म संसद् बैठक अघि बढ्न नसक्ने उनको भनाइ थियो ।

विपक्षी दलका दुई सांसदले बोलेपछि सभामुखले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न दिएका थिए ।

घिमिरेले भने, ‘उहाँहरूले संसदमा जे कुरा उठाउनुभएको छ, त्यो हामीले गम्भीरतापूर्वक सुन्यौँ । त्यसैले उहाँहरूले हाम्रो कुरा पनि सुन्नुपर्ने दायित्व हुन्छ ।’

विपक्षीको होहल्लापछि सभामुखले घिमिरेलाई बोल्न रोके । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने घोषणा गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि गृहमन्त्रीमाथि गम्भीर आरोप लागेकाले मार्ग प्रशस्त गर्न आग्रह गरे । उनले गृहमन्त्री पदमै रहेका बेला निष्पक्ष छानबिन हुन नसक्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ