काठमाडाैं– नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक (डिएसपी) गोविन्द पन्थी भिजिट भिसाको नाममा भइरहेको मानव तस्करी, कागज किर्तेलगायतका गम्भीर अपराधको अनुसन्धानमा संलग्न हुँदा धम्की, राजनीतिक दबाब र अन्ततः सरुवासम्मको चपेटामा परेका थिए।
३० वर्षसम्म प्रहरी सेवामा रहेर कर्तव्यनिष्ठ ढंगले काम गरेका पन्थी ५८ वर्षको उमेरमा गत भदौ १६ गते अनिवार्य अवकाशमा गए। उनले कार्यकालभरि मानव तस्करी, ठगी, हत्या जस्ता जघन्य अपराधको अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरे।
गत वर्ष कात्तिकमा उपत्यका अपराध अनुसन्धान कार्यालयले पन्थीलाई उत्कृष्ट कार्य सम्पादनका लागि ‘सर्वोत्कृष्ट प्रहरी’को उपाधि प्रदान गरेको थियो। उपत्यका अपराध अनुसन्धान महाशाखाको पिलर-८ को नेतृत्व गर्दै उनले वैदेशिक रोजगारका नाममा हुने ठगी, नक्कली कागजात बनाउने गिरोहमाथि ठोस अनुसन्धान सुरु गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६४१ राहदानीसहित फर्काइएका शंकास्पद यात्रुहरूको अनुसन्धान पन्थीको नेतृत्वमा भएको टोलीले गर्यो।
अनुसन्धानका क्रममा विभिन्न ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी, होटल, एयरलाइन्स, श्रम विभाग, अध्यागमन विभाग र प्रहरीका केही कर्मचारीको मिलेमतोमा व्यापक मानव तस्करी सञ्चालन भइरहेको खुलासा भयो। पन्थीको टिमले करिब ४० जनालाई पक्राउ गरी कागज किर्ते, मानव तस्करी र संगठित अपराधअन्तर्गत मुद्दा दायर गर्यो। मुद्दालाई संगठित अपराधमा लैजान सरकारी वकिलसँग निकै बहस गर्नुपरेको थियो।
तर अनुसन्धानको क्रममा पन्थीलाई विभिन्न तरिकाले दबाब दिइयो। अख्तियारमा १६ पानाको उजुरी हाल्ने धम्की दिइयो, राजनीतिक पहुँच भएका व्यक्ति–विशेषले संरक्षण दिइरहेका संस्थाहरूको नाम अनुसन्धान प्रतिवेदनमा आउन थालेपछि पन्थीमाथि चरम दबाब सिर्जना भयो।
एक महिनाभित्र फाइल अर्को पिलरमा फिर्ता गर्न, अनुसन्धान टुङ्ग्याउन र मुद्दा कमजोर बनाउने प्रयास भइरहे पनि तत्कालीन एसएसपी सोमेन्द्रसिंह राठौरले स्पष्ट निर्देशन दिए- ‘जुनसुकै तहका व्यक्ति किन नपरे, जरैदेखि अनुसन्धान गर।’
डिएसपी पन्थीले यसअघि पनि उपत्यकामा भएका चर्चित हत्या र अपराधका घटनामा सफल अनुसन्धान गरेका थिए। कपनमा निरा पाण्डेको हत्या, तार्केश्वरमा ९० वर्षीय वृद्धको बीभत्स हत्या, रामघाटमा भारतीय नागरिकको हत्या जस्ता घटनामा संलग्नलाई पत्ता लगाएर कानुनी दायरामा ल्याएका थिए।
तर, जब भिजिट भिसा प्रकरणमा ठुला नृपहरूको नाम आउन थाल्यो, पन्थीको सरुवा भयो। अनुसन्धान टिममा अन्य सदस्य पठाइए। तर, पन्थीको प्रतिवेदनले प्रहरी संगठन र देशकै नीति निर्माण तहलाई सोच्न बाध्य बनाएको छ।
अब यो विषय निष्पक्ष र गहिरो अनुसन्धान हुन आवश्यक छ। सरकारले विशेष न्यायिक आयोग गठन गरेर यस मामिलामा संलग्न सबै तहका व्यक्ति–विशेषमाथि छानबिन गर्नुपर्ने माग तीव्र बन्दै गएको छ।
आयोग गठन भई छानबिन भएमा विगतका केही गृहमन्त्री, श्रम मन्त्रीदेखि प्रधानमन्त्रीका सचिवालयसम्मको संलग्नता उजागर हुने सम्भावना उच्च देखिन्छ।
उनले फेसबुकमा यस्तो लेखेका छन्:
जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली एयरपोर्ट बाट हट्यो त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आफ्ना गतिविधि अगाडि बढायो र शंकास्पद कागजात मिति २०८० आश्विन १९ गते १६४१ राहदानी सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाइयो।
त्यस बखत म ८ न पिलरमा DSP को रूपमा नेतृत्व गर्दै थिए उक्त पिलरले वैदेशिक रोजगार ठगी मुद्दाको अनुसन्धान तथा कारबाही गर्दथ्यो।तसर्थ एयरपोर्टबाट आएका कागजात ३ न पिलरमा आए। उक्त पिलरले ठगी हेर्ने हुँदा स्वभाबिच भयो। एक महिनाको अनुसन्धानमा राहदानी आउने अनि जसको हो उसैलाई फिर्ता दिने कार्य भयो।
त्यसबाट अपेक्षित परिणाम नआए पछि तत्कालीन SP रवीन्द्र रेग्मी सरले SSP सोमेन्द्र सिंह राठौर सरसंग सल्लाह गरेर उक्त भिजिट भिषा प्रकरण ८ न पिलरबाट मलाई हेर्न निर्देशन भए पश्चात् मेरो जिम्मेवारी तोकियो। तत्पश्चात् मेरो नेतृत्वको टोलिने गहिरिएर अनुसन्धान गर्दा सबै नक्कली कागजात तयार गर्ने , काम ल्याउने दलाल, कन्सल्टेन्सी , ट्राभल व्यवसायी , म्यानपावर , होटल र एयरलाइन्स , अध्यागमन , श्रम विभाग र प्रहरीका केही अधिकारीको मिलेमतोमा ठुलो तस्करी सञ्चालित भएको देखिए पछि मैले अनुसन्धान प्रतिवेदन पेस गरेकोमा तत्कालीन कार्यालय प्रमुख SSp सोमेन्द्र सिंह राठौरले कसैलाई नछाडी जरैमा पुग्न जुन साहसिक निर्देशन दिनु भएको थियो तत्पश्चात् २० जना दलाल,२० वटा ट्राभल , ८ कन्सल्टेन्सी , नेता र कर्मचारी गरी ३७ जना नियन्त्रणमा लिएर मानव तस्करी , किर्ते र सङठित अपराध मुद्दा चलाइएको थियो।
उक्त मुद्दा लाई सङठितमा लैजान हामीले सरकारी वकिलसंग नोक झोक नै गर्नु परेको थियो र मैले अनुसन्धान गर्दा मलाई अख्तियारमा १६ पाने भराउन धम्की पनि नदिइएको हैन । कुनै कुरालाई प्रभाव नगरी पत्रकार सम्मेलनबाट आफ्नो तालुक कार्यालय गृह मन्त्रालयका अधिकारीको संलग्नता मानव तस्करी भएको र दैनिक डेढ करोड देखि २ करोड कर्मचारीले लिने गरेको निर्भीकताका साथ तथ्यमा आधारित भएर बोलेको थिए।
जुन कुरा व्यावसायिक र निडर हिम्मतिलो कार्यालय प्रमुख सोमेन्द्र सरको कारणबाट सम्भव भएको थियो।प छि अनुसन्धान भएर कतिपय पुर्पक्षका लागि थुनामा समेत गए र कतिपय धरौटीमा छुटे। उक्त file अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको थियो। दुई वर्ष न भयो बल्ल। आशा गरौँ अनुसन्धान हुँदै होला। धेरै दलाल र ठुला तस्करीमा संलग्न दुबई र भारत गएर बस्नु पर्यो।त्यस्तो स्थिति सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठुलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो।
नभन्दै मेरो सरुवा भयो।सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २, ३ दिन अगाडि हटेका गृहमन्त्री नारायण काजी श्रेष्ठले टिपाएको र तत्कालीन igp वसन्त कुवरको जोडबल मै भएको बुझिए पछि ssp सोमेन्द्र सरले रोक्न हालका igp तत्कालीन मेट्रो प्रमुख दीपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जसका कारण सरुवा रोकिएन।
पछि तत्काल गृहमन्त्री फेर बदल पश्चात् मैले गृहमन्त्री रवि लामिछानेलाई एउटा पत्र लेखे जसको कारण मेरो सरुवा कानुन त रोकिएन किनकि बदर गर्दा रकम फिर्ता गर्नु पर्थ्यो। तसर्थ मौखिक रूपमा रवाना नगरी त्यही काम गर्न भनियो। मैले लेखेको पत्र पछि सार्वजनिक गर्नेछु।
तसर्थ साँच्चिकै अनुसन्धान गरेर तस्करी नियन्त्रण गर्ने र सुशासन ल्याउने हो भने यो विषयमा अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नु पर्दछ। त्यसो गरियो भने एकाध बाहेक कुनै गृहमन्त्री, श्रम मन्त्री र प्रधानमन्त्रीको सचिवालय टिमसमेत कानुनी कठघरामा उभिने छ। अहिले सहसचिव तीर्थ भट्टराईलगायत अख्तियारको अनुसन्धानको दायरामा रहेकोले हिम्मत गर्नु पर्दछ।अ ख्तियार प्रमुख ज्यु इतिहासमा नाम लेखाएर जनताको मनमा बस्ने अवसर आएको छ। यो विषय सूक्ष्म र निष्पक्ष अनुसन्धान हुने हो भने ठुलो उथल पुथल हुने निश्चित छ। अवसर लाई सदुपयोग होस ।
शुभकामना ।
प्रतिक्रिया