+
Search

ताजा अपडेट +

पपुलर +

प्रतिनिधिसभा बैठक

आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भइसके : सांसद डाँगी

पालिका लाइभ
२०८२ बैशाख ३०, मंगलवार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक तथा सांसद निशा डाँगीले अब पुराना नेताहरूलाई बिदा दिने समय आएको स्पष्ट रूपमा बताएकी छन्। उनले आफू जन्मिनुअघि नै प्रधानमन्त्री भइसकेका नेताहरू अझै पनि सत्ताको चक्रमा घुमिरहेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता नेताहरूलाई ‘डेट एक्सपायर’ भइसकेको संज्ञा दिएकी हुन्।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद डाँगीले अबको पुस्ताले नयाँ सोच र दृष्टिकोण बोकेको नेतृत्व देख्न चाहेको बताइन्। उनका अनुसार, जनताले पुराना शैलीका नेताबाट अब कुनै आशा गरेका छैनन्, बरु नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, व्यवहारिक सोच र दीर्घकालीन योजना भएको नेतृत्वको खोजीमा छन्।

उनले सांसदमै सरकारको नीति तथा कार्यक्रममा जेन जेड पुस्ताको चर्चा व्यापक रूपमा भएको स्मरण गराउँदै, यस पुस्ताका वास्तविक सरोकारलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन्। नयाँ पुस्ता स्थिर सरकार र सुनिश्चित भविष्य चाहन्छ भन्ने धारणा राख्दै उनले भनिन्, ‘अब हजुरबुवाको पालाका नेताबाट हाम्रो पुस्ताले आशा मारिसकेको छ।’

उनका अनुसार युवापुस्ता केवल डिग्री धारण गरेर होइन, गुणस्तरीय शिक्षा र व्यवहारिक सीपमार्फत समाजमा योगदान पुर्‍याउन चाहन्छ। रोजगारको नाममा केवल कागजी योजनाहरूको खेती होइन, उद्यमशीलता र सीप विकासमार्फत आत्मनिर्भर भविष्य निर्माण नै युवाको प्राथमिकता हो भन्ने स्पष्ट सन्देश उनले दिइन्।

सांसद डाँगीले देश व्यापक भ्रष्टाचारको दलदलमा फसेको टिप्पणी गर्दै त्यसबाट मुक्ति पाउन युवापुस्ताले सुशासन र पारदर्शिता माग गरिरहेको जनाइन्। उनले सरकारसँग आफ्ना पुस्ताका जायज मागहरूलाई गम्भीरतापूर्वक लिन र व्यवहारमा उतार्न आग्रह गरिन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ