+
Search

ताजा अपडेट +

पपुलर +

नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि लहान तनावग्रस्त

पालिका लाइभ
२०८१ माघ ९, बुधबार

सिराहा– लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल निर्माण गर्न थाले पछि स्थानीय जनता र पालिकाबीच द्वन्द्व बढेको छ ।

लहान बजार र नगरपालिका कार्यालय छाउनीमा परिणत भएको छ । महिनौँदेखि नहर मासेर ढल बनाउने कार्यको प्रतिरोध गर्दै आएका स्थानीय जनताको सडक आन्दोलनले उग्र रूप लिएको छ ।

गत सोमबार लहान नगरपालिकामा तालाबन्दी गर्न गएका आन्दोलनकारी र सुरक्षाकर्मी बीच घण्टौँसम्म घचेटाघचेट चलिरह्यो । मंगलबार सडक प्रदर्शनमा ओर्लिएका लहान नगरपालिकाका किसानहरू माथि प्रहरीले पानीको फोहरा प्रहार गरेको थियो ।

लहान नगरपालिकाको हठ छ नहर चाहिँदैन , ढलको आवश्यकता छ , त्यसकारण ढल निर्माण गर्छौँ । स्थानीय किसानहरू भन्छन् ढल अलग्गै बनाऊ । प्रयोगमा आइरहेको साबिकको नहर संरचना मास्न पाइँदैन । पटक पटक वार्ता संवाद भए पनि नगरपालिका र आन्दोलनकारी किसानहरू बीच सहमति हुन सकेको छैन । किसान आन्दोलनलाई नेकपा एमाले , नेकपा माओवादी केन्द्र , जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसकै पनि एक पक्षले समर्थन गरेको छ ।

२००१९ सालमा करोडौँ खर्च गरेर निर्माण गरिएको खुट्टी खोला सिँचाइ आयोजना अन्तर्गत नहर लहान शहरको बीचोबीच बनेको छ । किसा भन्छन्, ‘यो नहर अझै चालु छ र वर्षयाममा करिब २ हजार बिघा जमिन रोपाई गर्न यो नहरले पानी दिन्छ । लहान नगरपालिकाको दाबी भने फरक छ ।’ पालिका भन्छ ,‘खुट्टी खोला सुखा नदी हो । यो नहर उपयोगविहीन छ । त्यसकारण यसलाई मासेर ढल बनाउन लागिएको हो ।’ पालिकाले ढल निर्माण गर्न ८ करोड ४८ लाखमा ठेक्का लगाएको छ । ठेकेदारले ढल निर्माण कार्य सुरु गरेपछि किसानहरूले प्रतिरोध थालेका हुन् ।

लहानका किसानहरूले खुट्टी खोला सिँचाइ संघर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । विगत दुई महिनादेखि जारी आन्दोलनले अब उग्र रूप धारण गरिरहेको छ । घोषित आन्दोलनको कार्यक्रम अनुसार माघ ९ गते आज जिल्ला प्रशासन कार्यालय सिराहा र उद्योग वाणिज्य संघ लहानको कार्यालयमा ज्ञापन पत्र बुझाउने , १० गते लहान नगरपालिकाको कार्यालय अगाडि धर्ना दिने , ११ गते शहीद चौक लहानमा मेयरको पुतला दहन गर्ने र १२ गते जनप्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनकारी धर्मराज चौधरी भन्छन्, ‘नहर बचाउन लहानका किसानहरूले पुनरावेदन अदालत राजविराजमा रिट हालेका थिए । नहर नमासीकन ढल बनाउनु भन्ने अदालतको अन्तरिमको पनि अवहेलना गरी लहान नगरपालिकाका मेयर महेश चौधरीले बलपूर्वक ढल निर्माण जारी राखेका छन् । त्यसकारण हामी वारपारको स्थितिमा जान बाध्य भएका छौँ । ’

आन्दोलनकारी किसानहरूले सिँचाइ गर्ने प्रयोजनको लागि साबिक मै बनेको नहर मास्न पाइँदैन भन्ने अडान लिएका छन् ।

नेपाली कांग्रेसका युवा नेता अजय चौधरीले मेयर महेश चौधरीले स्थानीय प्रहरी र प्रशासनलाई नगरपालिकाको फन्डबाट पालेका बताए । प्रहरी प्रशासन मेयरको अन्धभक्त भएर जनतालाई दमन गरिरहेका छन् । किसानको नहर मासेर ढल बनाउने निर्णय निर्माण कार्यबाट आउने कमिसनको अभिष्टसँग जोडिएको युवा नेता चौधरीको दाबी छ ।

अर्का किसान नेता लहान नगरपालिका वडा न २३ का असेस्वर यादव भन्छन् ‘नहरको विकल्प केही थान बोरिङ्ग हुँदैन । हामी केही थान बोरिङ्गसँग नहर साट्न सक्दैनौ । अहिले पनि वर्षा याममा २ हजार बिघा जग्गा नहरबाट सिँचाइ हुँदैछ । त्यसकारण लहान नगरपालिकाको अविवेकी र जनघाति निर्णय फिर्ता लिनैपर्छ । ’

वडा नं. ११ का किसान नेता दीपेन्द्र चौधरी भन्छन् ‘सिराहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र लहानका डिएसपीलाई किनेर मेयर महेश चौधरीले कतिन्जेल मुढेबलमा शासन चलाउँछन् । लहानको रेस्टुरेन्टमा महँगो रक्सी खुवाएको भरमा प्रहरी प्रशासनले जनतामाथि लाठी बजार्छ भने उनीहरूको पनि चरित्र उदाङ्गो हुने छ । हामी नहर मास्न दिँदैनौ । आन्दोलन अझै उग्र बन्छ । त्यसको जिम्मेवार मेयर चौधरीले हुनुपर्छ ।

पत्रकार मिथिलेश यादव भन्छन्- ‘मेयर चौधरीले जनतालाई विश्वासमा लिएर आफूले गरेको कामको मर्म बुझाएर अघि बढ्दा उत्तम हुन्छ । बलपूर्वक गरेको कामको नतिजा सर्वथा अनुचित हुन्छ ।’

वद्धिजीवीहरुले तत्कालै नेपाल सरकारले मध्यस्थता गरेर हस्तक्षेपकारी भूमिका नखेले लहानमा रक्तपात हुन सक्ने सम्भावना औँल्याएका छन् । प्रदेश सांसद राजेन्द्र चौधरी भन्छन् मेयर महेश चौधरीले राणाकालीन शासनशैली र अविवेकी राजहठ प्रदर्शन गरेको र स्थानीय प्रहरी प्रशासन उनकै इशारामा नाचेको छ । मैले पटक पटक संसदमा आवाज उठाएको छु ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ