रौतहट- कटहरिया नगरपालिकामा करोडौँ रुपैयाँ अनियमितता गर्ने उद्देश्यले निर्णय पुस्तिका दुरुपयोग गरिएको आरोप लागेपछि जनप्रतिनिधिहरूले मेयर र प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाहीको माग गरेका छन्।
उपमेयर रिता देवी यादवको नेतृत्वमा जनप्रतिनिधिहरूले प्रमुख प्रशासकीय अधिकृत रामजी जोशी र मेयर जयप्रकाश जैसवालविरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा लिखित उजुरी दर्ता गराएका हुन्।
उजुरीमा पुरानो बैठकको निर्णय पुस्तिकामा पुरानै मितिमा अवैध रूपमा दर्जनौँ निर्णय थपेर करोडौँ रुपैयाँ अनियमितता गर्ने योजना बनाइएको आरोप लगाइएको छ। जनप्रतिनिधिहरूले उक्त कार्यमा संलग्न रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जोशी र मेयर जैसवालमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
जनप्रतिनिधिहरूका अनुसार गत मंसिर २० गते बसेको नगर कार्यपालिका बैठकमा करार कर्मचारी भर्ना तथा इलाका प्रहरी कार्यालय कटहरियाका लागि जग्गा खरिदसम्बन्धी प्रस्तावमा सहमति जुट्न सकेको थिएन। तर, त्यसपछि मेयर जैसवालको निर्देशनमा सोही बैठकको निर्णय पुस्तिकामा थप निर्णय लेखिएको र कार्यपालिका सदस्यहरूको घरमै पुगेर हस्ताक्षर गराइएको उपमेयर यादवको दाबी छ।
उपमेयर यादवले केही कार्यपालिका सदस्यलाई विभिन्न प्रलोभनमा पारेर पुरानै मितिमा हस्ताक्षर गराइएको तथा पटक–पटक बहुमतको दाबी गरिएको आरोप लगाएकी छन्।
कटहरिया–५ का वडाध्यक्ष सर्फलाल गुप्ताका अनुसार निर्णय पुस्तिकाका विभिन्न स्थानमा खाली ठाउँ राखेर हस्ताक्षर गराइएको छ। उनले ती खाली स्थानमा पछि मनपरी निर्णय लेख्ने योजना रहेको दाबी गरेका छन्।
यस्तै, वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहाले मेयर जैसवाल र प्रमुख प्रशासकीय अधिकृत जोशीले करार कर्मचारीको तलब, इन्धन खर्च, डीपीआर, आर्थिक सहयोग तथा औषधि खरिदलगायतका विषयमा निर्णय लेखी घर–घरमा हस्ताक्षर संकलन गरेर बहुमत देखाउने प्रयास गरेको आरोप लगाए।
वडाध्यक्ष कुशवाहाले मेयर निर्वाचित भएयता अवैध निर्णयका आधारमा करोडौँ रुपैयाँ अनियमितता हुँदै आएको दाबी पनि गरेका छन्। पछिल्लो निर्णयबारे जानकारी पाएपछि उपमेयर यादवसहितका जनप्रतिनिधिहरूले उक्त निर्णय बदर गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।
उजुरी दिने टोलीमा कटहरिया–१ का वडाध्यक्ष भूपेन्द्र महतो, वडा नम्बर २ का हरेन्द्र साह, वडा नम्बर ४ का चन्दन कुशवाहा, वडा नम्बर ५ का सर्फलाल गुप्ता, वडा नम्बर ६ का जयराम चौधरी, वडा नम्बर ७ का महमद सहिद तथा वडा सदस्य रामेश्वर यादवलगायत रहेका छन्।
यता, प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले जनप्रतिनिधिहरूले फेला पारेको निर्णय पुस्तिका ‘खेस्रा’ मात्र भएको भन्दै आरोप अस्वीकार गरेका छन्। तर, जनप्रतिनिधिहरूले उक्त पुस्तिकाको अन्तिम पृष्ठमा मेयर जैसवालसहित कार्यपालिका सदस्यहरूको स्पष्ट हस्ताक्षर रहेको भन्दै जोशीको दाबीप्रति प्रश्न उठाएका छन्।
यसअघि पनि उपमेयर यादवसहितका जनप्रतिनिधिहरूले कटहरिया नगरपालिकामा तालाबन्दी गरेका थिए। उनीहरूले नगरपालिकाका नौवटै वडामा कार्यरत करिब ५० जना करार कर्मचारीको २० महिनासम्मको बाँकी तलब भुक्तानी नगरी नयाँ भर्ना प्रक्रिया अघि बढाउन नहुने तथा मंसिर २० गतेको बैठकको निर्णय पुस्तिका दुरुपयोग गरी गरिएका निर्णय बदर गर्नुपर्ने माग गरेका छन्।
जनप्रतिनिधिहरूले गरेको तालाबन्दी हालसम्म पनि जारी रहेको छ।
प्रतिक्रिया