देश संघिय संरचनामा गई स्थानीय तह निर्माण भएको करिब ७ वर्ष भयो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको छ । स्थानीय तह निर्माण पश्चात् पहिलो कार्यकाल जनप्रतिनिधि बिताइसकेका छन् । अहिले दोस्रो कार्यकालका जनप्रतिनिधिहरू निर्वाचित भएर आएको साढे दुई वर्ष बितिसकेको छ ।
स्थानीय सरकार आएसँगै ग्रामीण गाउँ ठाउँमा धेरै परिवर्तन पनि भएको छ । नागरिकहरूले गाउँबाटै न्यायको आभास पनि गर्न थालेको बताएका छन् । तर, मनाङको नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने निर्वाचित भएर आएको साढे २ वर्षमा कस्तो अनुभव गरेका छन् त ? पालिका लाइभ सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश:
बाहिरबाट देखेको र आफैँले नेतृत्व गरेको पालिकामा के फरक पाउनुभयो ?
२०७८ सालमा आएको बाढी पहिरोले सबैभन्दा क्षति भएको गाउँपालिका हो- नासो। विभिन्न संरचना भत्किएको थियो, त्यो संरचनाको पुन निर्माण गरे । ९ वटा झोलुङ्गे पुल मध्ये ५ वटा निर्माण गरिसकिएको छ । बाँकी २ वटा पुलको यही मंसिरमा सम्ममा सम्पन्न हुने अपेक्षा छ । पुरस्थापना गर्ने पुलहरू नभएको ठाउँमा पुलहरू निर्माण गर्याे र बाँकी रहेका ठाउँमा निर्माण गरिरहेका छौँ । बाटो नभएको ठाउँमा बाटो निर्माण गरिरहेका छौँ, अहिले पनि बिजुली छैन, बिजुली नभएको ठाउँमा बिजुली निर्माण गर्ने । मोटर बाटो नपुगेको वडामा मोटरबाटो पुर्याउने काम गर्दै छौँ । बाढीले बगाएको विद्यालय पुन निर्माण गरिसकेका छौँ । बिद्यार्थीहरु विस्थापित भएका थिए । कहाँबाट ल्याउने भन्ने चुनौती छ ।
यो अवधिमा के काम गर्नुभयो ? हिजो निर्वाचनमा गरेका वाचा र घोषणापत्र सम्झिनु भएको छ ?
तत्कालीन समय २०७८ सालमा क्षतविक्षत भएका झोलुङ्गे पुल निर्माण गर्ने, मोटर बाटो नपुगेको ठाउँमा मोटरबाटो पुर्याउने, बिजुली नपुगेको ठाउँमा बिजुली पुर्याउने, खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्याउने, भानु माध्यमिक विद्यालयको भवन भत्काएको र डुबानमा परेको हुँदा त्यसको पुन संरचना गर्ने भन्ने कुराहरू राखेको थिए । अहिले करिब करिब मैले बोलेको कुरा ६० प्रतिशत पुरा भएको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनमा देखिएको चुनौतीलाई तपाइ कसरी लिनुहुन्छ ?
यहाँ यस्तो समस्या चुनौती छैन । यहाँ कर्मचारीको अभाव भएको छैन । प्रमुख प्रशासकीय अधिकृत टिकाउन सबै कुराको वातावरण सिर्जना गरी सहज वातावरण बनाउनुपर्छ । अनि मात्र व्यवस्थित हुन्छ ।
तपाई पहिला शिक्षक पनि हो । पूर्वाधार र विद्यार्थी नभएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
सरकारी विद्यालय र निजी विद्यालयको बीचमा ठुलो खाडल थियो । त्यो खाडल मेटाउनका लागि आवासीय रूपमा रूपान्तरण गर्यौ । आवासीय खर्च भनेर हामीले ५० लाख रुपैयाँ वार्षिक रूपमा छुट्टाएका छौँ । त्यसैले एक गाउँपालिका एक आवासीय विद्यालयको रूपमा लगेर यहाँका मानिसहरूलाई पनि बोर्डिङको महसुस होस भन्ने हिसाबले काम गर्दै छौँ । अहिले शिक्षामा पनि प्रगति भएको छ । २०७५ सालमा सुरुवात गरेको हो । अब २०८५ सालभित्रमा नतिजा आउँछ । किनकि त्यो ७५ सालमा एक कक्षामा पढेका विद्यार्थी २०८५ सालमा कक्षा १० अर्थात् एसइई दिने हुन्छन् । त्यति बेला नतिजा आउँछ । हेरौँ ८५ सालमा केही बिद्याथीहरु निस्कन्छन् भन्ने आशा लागेको छ ।
स्वास्थ्य सेवालाई कसरी व्यवस्थित बनाउनुहुन्छ ?
स्वास्थ्य चौकी हुनुपर्यो भन्ने माग थियो त्यसलाई पूर्ति भएको छ । तीन वटा वडामा स्वास्थ्य चौकी थियो । अहिले नपुगेको प्रत्येक गाउँमा एउटा आधारभूत स्वास्थ्य चौकी छ । पालिकाले नै त्यहाँ प्राविधिक तथा कर्मचारी राखेको छ । रुघाखोकी लगायत सामान्य समस्या हुँदा उपचार हुन्छ । पहिलाभन्दा धेरै विकास भएको छ । चेतनाको कमीले मानिसले अकालमै ज्यान गुमाउनुपर्थ्यो । तर अहिले त्यस्तो छैन । त्यसै गरी सुत्केरी गराउनका लागि बाहिर जानुपर्ने बाध्यता छ । त्यसैले यही सुत्केरी गराउन सक्ने गरी एउटा अस्पताल निर्माण भयो भने धेरै सहज हुन्थ्यो ।
प्रदेश र संघीय सरकारको सहयोग कस्तो पाउनुभयो ?
संघबाट बजेट पाइरहेकै छ । अनलाइनबाट कार्यक्रमका लागि बजेट माग गछौँ । निश्चित बजेट आउँछ । एउटा दुई वटा कार्यक्रम पाइरहेकै छौँ ।
स्थानीय तहलाई प्रदेश र संघ सरकारले कस्तो खालको सहयोग गरिदिए काम गर्न अझै सहज हुन्छ जस्तो लाग्छ ?
मुख्यतः अस्पताल बनाइदिए हुन्थ्यो जस्तो लाग्छ । पहुँच नपुगेको क्षेत्रमा मोटरबाटो पुर्याइदिए हुन्थ्यो भन्ने लागिरहेको छ । मुख्यतः यहाँ २०७२ सालको भूकम्पले धेरै हल्लाएको छ । र, २०७८ सालमा बाढी पहिरोमा रूपान्तरण गरिदिएको छ । जसले गर्दा छोटो समयमा जलवायुको असर थुप्रै छ । हिजोका दिनहरूमा कति रमणीय हिमालहरू देखिन्थ्यो भने अहिले नाङ्गा डाँडाहरू देखिन्छन् । यो हाम्रो नासो गाउँपालिकामा १४ वटा जलविद्युत आयोजना बन्ने सम्भावना छ । दुई वटा चालु नै भइसके । त्यसको पानीको मुहान भनेको मस्याङ्दीको तिलिचो ताल नै हुन् ।
दुधखोलामा तीन चार वटा स्रोत छ । त्यो मनासलु हो । मनासलु एरियाको माथि पानीको मुहान नै सुकिरहेको अवस्था छ । भोली जलविद्युत आयोजना नै बन्ने कि नबने भन्ने अड्कल गर्न सकिन्छ । अहिले सुकेको पानीको मुहान हिमालमा देखिएको छ । अहिले राज्यलाई नै चुनौतीको विषय बनेको छ । अरू त मोटरबाटो लैजाने ठाउँमा लैजान्छौँ । अस्पताल बनाउने ठाउँमा लैजान्छौँ । तर जलवायु परिवर्तनको न्यूनीकरण गर्ने सन्दर्भमा मिडिया मार्फत राज्यले सौन्दर्यताकलाई कायम राख्न सकियो भने पर्यटन भित्र्याउन सकिन्छ । त्यसैले अहिले नयाँ चुनौतीको रूपमा थपिएको छ ।
पालिका मार्फत कृषि अनुदानको लागि के गर्नुभएको छ ?
अनुदान त हामीले दिन सकेको छैन । मल दिने, बिउ बिजन दिने, मात्रै हो । हामीलाई दिइने बजेटको आकार सानो हुन्छ । ९ वटा वडामा ४ करोड समानिकरण बजेट आउँछ । बजेट एकदम साँघुरो छ । १०/१५ लाख हो । त्यत्तिले ९ वटा वडामा कसरी पुर्याउने । एकदम दयनीय अवस्था छ ।
तपाईँले गर्नु पर्ने या गर्न बाँकी रहेका योजनाहरू के के छन् ?
५ वटा झोलुङ्गे पुल बनाउने । पर्यटकीय क्षेत्र हो यो । पर्यटकीय वैकल्पिक पदमार्ग निर्माण गर्ने । नयाँ पर्यटकीय स्थलहरूको पहिचान भएका क्षेत्रहरूको पदमार्ग निर्माण गर्ने, एम्बुलेन्स सहज रूपमा सञ्चालन गर्न बाटोघाटोको मर्मत सम्भार गर्ने, युवा खेलकुदका लागि एक गाउँपालिका एक खेल मैदानका लागि खेल मैदान निर्माण गर्नेछौँ । निर्वाचनको समयमा गरेको घोषणापत्र अनुसार लगभग ६० प्रतिशत काम सम्पन्न गरिसकेका छौँ । अब झोलुङ्गे पुल निर्माण र मोटर बाटोको पहुँच पुर्याउने हो भने ‘मिसन’ पुरा हुन्छ ।
पालिकामा अध्यक्ष एउटा पार्टीको उपाध्यक्ष अर्को पार्टीको हुँदा काम गर्न कत्तिको चुनौती छ ?
नेतृत्व तहले राम्रोसँग लैजाने हो । हामीलाई असहज छैन । फरक मत राख्नु स्वाभाविक हो। तर, अन्तिममा निर्णय सहमतिमा हुन्छ ।
याे पनि,
स्थानीय सरकार खोज्दा देखिने र छाम्दा भेटिने बनाएका छौं- अध्यक्ष थापा (अन्तर्वार्ता)
चुनौतीलाई अवसरको रुपमा लिएको छु : उपाध्यक्ष गुरुङ (अन्तर्वार्ता)
प्रतिफल देखिने गरि काम गरिराखेका छौँ : उपाध्यक्ष भुजेल (अन्तर्वार्ता)
न्यायिक समितिमा आएका मुद्दा मेलमिलापका माध्यमबाट समाधान गरिन्छ: उपमेयर खनाल (अन्तर्वार्ता)
नागरिकको काम भएन भने मलाई पिडा हुन्छ : उपमेयर थोकर (अन्तर्वार्ता )
जित-जितको माध्यमबाट विवाद समाधान हुँदा न्यायिक कार्य दिगो भएको छ : उपप्रमुख पाण्डे [अन्तर्वार्ता]