+
Search

ताजा अपडेट +

पपुलर +

ठेक्काको पैसाले सेयर किनेर आयोजना अलपत्र पारेपछि मुख्यमन्त्री बानियाँको घरमा छापा

फाइल तस्बिर
पालिका लाइभ
२०८३ बैशाख २१, सोमबार

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा निजी कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ। अवैध सम्पत्ति लुकाएको आशंकामा विभागको टोलीले सोमबार एकैसाथ विभिन्न स्थानमा छापा मारेको हो।

विभागका अनुसार हेटौंडाको सानोपोखरास्थित बानियाँको निवास र बानियाँ निर्माण सेवा कार्यालयमा छापा मारेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिइएको छ। यससँगै काठमाडौंको नक्साल र सुन्धारास्थित निजी कार्यालयहरूमा समेत एकै समयमा छानबिन गरिएको स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा सरकारले हालै अध्यादेशमार्फत संशोधन गरेपछि अनुसन्धान प्रक्रिया तीव्र बनाइएको छ। सोही क्रममा मुख्यमन्त्री बानियाँ पनि अनुसन्धानको दायरामा परेका हुन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार निर्माण व्यवसायसँग सम्बन्धित ठेक्काबाट प्राप्त ‘मोबिलाइजेसन रकम’ सेयर खरिदमा प्रयोग गरिएको आशंका पुष्टि भएपछि अनुसन्धान अघि बढाइएको हो।

बानियाँको स्वामित्व वा संलग्नता रहेका निर्माण कम्पनीहरूले लिएका केही सडक आयोजनाहरू भने अहिले रुग्ण तथा अलपत्र अवस्थामा रहेको पनि बताइएको छ। सुन्धारास्थित कार्यालयलाई बानियाँले कार्यकर्ता भेटघाटका लागि प्रयोग गर्दै आएका थिए भने नक्सालस्थित कार्यालय व्यावसायिक प्रयोजनका लागि सञ्चालनमा रहेको जनाइएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ केही वर्षअघिसम्म सक्रिय रूपमा निर्माण व्यवसायमा संलग्न थिए। हाल पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको बताइन्छ।

बानियाँ गत साउन २० गते नेकपा एमालेको समर्थनमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ