+
Search

ताजा अपडेट +

पपुलर +

अन्तर्वार्ता:

स्थानीय सरकार खोज्दा देखिने र छाम्दा भेटिने बनाएका छौं- अध्यक्ष थापा (अन्तर्वार्ता)

पालिका लाइभ
२०८१ मंसिर ९, आईतवार ०८:०५ गते

बन्दिपुर गाउँपालिका तनहुँ जिल्लाका ६ वटा गाउँपालिकामध्ये एक हो। आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा बन्दिपुरलाई नगरपालिका घोषणा गरिएको थियो, जसमा धरमपानी र बन्दिपुर गाउँ विकास समिति समावेश गरिएका थिए। विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना लागू हुँदा साविकको बन्दिपुर नगरपालिकामा घाँसीकुवा (१,९) वडाहरू र केशवटार (१,९) वडाहरू समेटेर बन्दिपुर गाउँपालिका घोषणा गरिएको थियो। बन्दिपुर गाउँपालिकाको केन्द्र साविक बन्दिपुर नगरपालिकाको कार्यालय रहेको छ र यहाँ ६ वडाहरू छन्।

गाउँपालिका घोषणा भएपछि जनप्रतिनिधि निर्वाचित भएर आएका छन् र पालिकामा विकासले फड्को मार्दै गएको छ। जनताले पनि विकासको महसुस गर्न थालेका छन्। यसै सन्दर्भमा पालिका लाइभले गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापालाई सोध्यो: निर्वाचित भएर आएको साढे २ वर्ष बितिसकेको छ, आधा कार्यकालपछि बाहिरबाट देखिएको र आफैँले नेतृत्व गरेको पालिकामा के फरक पाउनुभयो?

पर्यटन र पूर्वाधारको क्षेत्रमा हामीले धेरै परिवर्तन गरेका छौँ। बन्दिपुरको मुख्य आयको स्रोत पर्यटन भएकाले हामीले पर्यटनलाई कृषिसँग जोडेर ‘एग्रो टुरिजम’को विकास पनि गरेका छौँ। विशेष गरी बन्दिपुरमा आउने पर्यटकले यहाँ आउँदा खाने तरकारी, दूधका परिकार आदि स्थानमै उत्पादन गर्ने व्यवस्था गरेका छौँ। बन्दिपुरका उत्तरी र दक्षिणी भेगका फाँटहरूमा कृषिका कार्यक्रम सञ्चालन गरेका छौँ र त्यहाँ उत्पादन भएका वस्तु स्थानीय क्षेत्रमा उपयोग हुने गरी थालनी गरेका छौँ। निर्वाचित आउनु अघि बन्दिपुरका धेरै फाँटहरू सुख्खा थिए भने अहिले तरकारी, मुसुरो, तोरी र दुग्ध पदार्थ उत्पादन गरी बजारसँग जोड्ने काम भइरहेको छ।

पर्यटन पूर्वाधारको क्षेत्रमा पनि हामीले विशेष काम गरेका छौँ। सिद्ध गुफा, एसियाकै सबैभन्दा ठूलो गुफा, ढुङ्गा छपनी गरेर सुरक्षित बनाइएको छ। ट्रेसहरू निर्माण गरेर गुफाको प्रवर्द्धन सुनिश्चित गरेका छौँ। बन्दिपुरका भित्री गल्ली र अन्य पर्यटकीय क्षेत्रहरूमा ढुङ्गा छापिएका छन्। ‘उज्यालो बन्दिपुर’ कार्यक्रम मार्फत बजारलाई हराभरा बनाएका छौँ। अन्य होमस्टेहरूमा पनि पर्यटन प्रवर्द्धनका काम भएका छन्। हामीले बारिष्टा, गाइड, कुक, हस्पिटालिटी जस्ता तालिमहरू सञ्चालन गरी युवालाई रोजगारको अवसर दिएका छौँ। पर्यटन क्षेत्रलाई बाहैं महिना चल्ने हिसाबले प्रचार–प्रसार, बुकलेट निर्माण र पर्यटकीय क्षेत्रहरूको क्यूआर कोड तयार पार्ने काम पनि गरिएको छ। पूर्वाधारको क्षेत्रमा, २०७९ मा हामीले बन्दिपुरमा आएपछि बाहैं महिना गाडी चल्ने सुनिश्चित गर्न सडक कटिङ र पक्की नालासहितको बाटो निर्माण गरेका छौँ।

.. जस्तो तपाइहरू निर्वाचित हुनुअघि बन्दिपुरमा बाहैं महिना बस चल्न सक्ने अवस्था थिएन?

ढ्याक्कै भन्नुपर्दा, हामी आउनु अघि बन्दिपुरमा १२ महिना बस चल्न सक्ने अवस्था थिएन। हामीले २०७९ सालमा बाटो फराकिलो बनाउने, कटिङ गर्ने र पक्की नालासहित सडक निर्माण गर्ने काम सुरु गरेका थियौँ। विकट वडाहरूमा सधैं बस जान सक्ने अवस्था थिएन, त्यसैले तत्काल केही सडक मर्मत पनि गरियो। २०८० मा करिब १२–१३ किलोमिटर सडक कालोपत्रे गरियो भने यो वर्ष करिब २० किलोमिटर सडक कालोपत्रे गर्दैछौँ। धेरै कच्ची सडक भएका गाउँका भागमा सडक ग्राभेल गरियो र अन्य ठाउँमा ढल निर्माण गरियो। मलाई लाग्छ, ८१ पछि बन्दिपुरका सबै ठाउँमा १२ महिना गाडी पुग्ने अवस्था हुनेछ। हामीले सहज यातायातको वातावरण तयार पारेका छौँ।

स्वास्थ्य क्षेत्रमा हामीले ६ वटै वडामा डाक्टर लैजाने योजना बनाएका छौँ। कार्यपालिका नै बनाएर डाक्टर लैजानको व्यवस्था पनि गरेका छौँ। जटिल बिरामीको नियमित चेकजाँच भइरहेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकाका बिरामीलाई लक्षित गर्दै ‘हाइवे’ क्षेत्रमा, डुम्रे बजारमा, बन्दीपुर अस्पताल सञ्चालनको अन्तिम चरणमा छ। हिउँदे अधिवेशनपछि अस्पताल सञ्चालन गर्ने योजना छ। भवन निर्माण, दाँत र आँखाको सेवा विस्तार गर्ने काम पनि अघि बढाएको छ। ०८१ मा भवन निर्माण सुरु हुनेछ र ०८२ सम्ममा पूरा हुनेछ। विषादीयुक्त खानेकुरा नियन्त्रण र नसर्ने रोग घटाउने हाम्रो मुख्य लक्ष्य हो। दाँतको डाक्टर पनि आउन लागेको छ।

शिक्षा क्षेत्रमा म आफू शिक्षक भएको कारण गुणस्तर बढाउन कठिनाइका कारणबारे अनुभव राख्दछु। गत वर्ष नै विज्ञ टोली बनाएका थियौँ। अनुगमन टोलीले विद्यालयमा नियमित अनुगमन गर्ने, नमुना कक्षा अभ्यास गर्ने र शिक्षकलाई कक्षा प्रदर्शन गराउने, कमी कमजोरी भए तत्काल सुधार गर्ने कार्यक्रम सञ्चालन गर्दैछ। विगत दुई वर्षको तुलनामा अबको शैक्षिक वर्षमा गुणस्तरीय शिक्षा सुधार हुनेछ। विद्यार्थीलाई रोजगारमुखी बनाउने उद्देश्यले तल्लो कक्षाबाट नै थालनी गर्नुपर्छ भन्ने अभियान पनि अघि बढाएका छौँ।

यो अवधिमा के काम गर्नुभयो ? हिजो निर्वाचनमा गरेका वाचा र घोषणापत्र सम्झिनु भएको छ ?

म आएपछि आवधिक योजना पनि निर्माण गरेका छौं। आवधिक योजनालाई मध्यनजर राखेर योजनाको बजेट निर्धारण गरी कार्यक्रम अगाडि बढाउँछौं। बन्दिपुरका गुरुयोजना निर्माणको क्रममा अघिल्लो कार्यकालमा म पनि सदस्य थिएँ। त्यस योजना अध्ययन गरेर आएका महत्वपूर्ण कुराहरूलाई नयाँ योजनामा समावेश गर्दै लैजान लागिपरेका छौं। अघिल्ला सरकारले गरेका कामहरूको निरन्तरता पनि दिएका छौं। अघिल्लो सरकारले गर्न नसकेको कामहरू, जस्तै ‘ग्रेटवाल’, अब सम्पन्नको चरणमा पुगेका छन्। साथै, बाटो ढलानका ६–७ करोडका कामहरू अघिल्लो सरकारले सुरु गरे पनि पुरा नगरेका कामहरू हामीले सम्पन्न गरेका छौं। यी सबै योजनाहरू नीति तथा कार्यक्रममा नै समावेश गरिएका छन्।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनमा देखिएको चुनौतीलाई कसरी लिनुहुन्छ ?

नेपालको सबैभन्दा डुलो समस्या कर्मचारी व्यवस्थापन हो । थोरै भएर होइन धेरै भएर हो । मलाइ लाग्छ, हाम्रो देशमा एक तिहाइ कर्मचारी हटाइदिने हो भने चालु खर्च घट्छ र विकास खर्च बढ्छ । करिब १२ खर्ब चालु खर्च देखिन्छ नेपालको । आम्दानी पनि राजस्वबाट १२ कै हाराहारीमा राजस्व उठ्छ । जति आम्दानी हुन्छ त्यति चालु खर्चमा सकिन्छ । बन्दिपुरको अवस्था पनि त्यत्ति नै हो । यहाँ प्रशासकीय प्रमुखको समस्या होइन । कर्मचारी अत्यधिक छ- बन्दिपुरमा । धेरै भएपछि करिब करिब अघिल्लो वर्ष १२ करोड चालु खर्च सकिएको थियो भने यो वर्ष हामीले १० करोडमा झारेका छौँ । मलाई लाग्छ- अर्को वर्ष ७ करोडमा झार्छौँ । यो वर्ष अनावश्यक कर्मचारीहरू हटाएका छौँ । ८ जना अनावश्यक कर्मचारी हटाएका छौँ । फेरि दरबन्दी नभएका बढी कर्मचारी हटाउने हाम्रो सोच छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा गाउँपालिका वा नगरपालिकाले चौथो पाँचौँ तहका कर्मचारी नियुक्ति गर्न पाइने छैन भनेर लेखिएको छ । गाउँपालिका वा नगरपालिकालाई प्राविधिक कार्यालय सहयोगी मात्रै नियुक्ति गर्न पाइन्छ भनेर लेखिएको छ । तर, अघिल्लो सरकारले चौथो र पाँचौँ तहमा नियुक्ति गरिएको रहेछ । कानुनले नमिल्ने भएकाले ८ जनालाई हटाएका हौँ । बढी भएका दरबन्दी हामीले हटाएका छौँ । दरबन्दी नभएकालाई हिउँद पछि हटाउँदै छौँ । किनभने पहिला एउटा सचिवले ९ वटा वडाको काम एक्लैले गर्नुहुन्थ्यो । अहिले ६ वटा वडा छ हाम्रो । ६ वटा वडामा सचिव, कार्यालय सहयोगी छन् । ९ वटा वडामा एउटै सचिव चलाउँथे भने अहिले एउटै वडामा सचिव, कम्प्युटर सहायक, प्रशासन सहायक, कार्यालय सहयोगी भनेर चार पाँच जना कर्मचारी वडामा हुन्छन् ।

वडा वडामा मान्छेको जनसंख्या घट्दो छ । त्यति धेरै कर्मचारी किन चाहियो । किन नियुक्ति गरियो ? किनभने राजनीति आस्थाका आधारमा, मान्छेका आधारमा नियुक्ति गर्ने हो भने ? देश त्यसै भएर बिग्रिएको । त्यही भएर त्यसलाई हटाउनुपर्छ भनेर हामीले दरबन्दी नभएका जतिलाई हटाइदिएका छौँ । बाँकी रहेकालाई हिउँदे गाउँ सभापछि फेरि हटाउनेतिर अगाडि बढ्छौँ । चुस्त दुरुस्त ढंगले थोरै कर्मचारी, जस्तो एउटा वडामा वडा सचिव, कार्यालय सहयोगी, वडाध्यक्ष भइहाल्नुहुन्छ । सदस्यहरू छन् । मलाई लाग्छ यतिले पुग्छ । पालिकामा पनि दुई तीन जना प्राविधिकले गरिरहेकै छन् । हाम्रोमा यहाँ ६/७ जना प्राविधिक छन् । बजेट त त्यति धेरै हुँदैन हाम्रो । त्यस कारणले यस्ता बढी भएका कर्मचारी हटाउने हो । खाली भएको भनेर आफ्नो मान्छे राख्न, पार्टीगत भन्ने गरेको पनि छैन हामी गर्दैनौ पनि ।

प्रदेश र संघीय सरकारको सहयोग कस्तो पाउनुभयो ? स्थानीय तहलाई प्रदेश र संघ सरकारले कस्तो खालको सहयोग गरिदिए काम गर्न अझै सहज हुन्छ जस्तो लाग्छ ?

मलाई एकदम चिन्ता लाग्छ। प्रदेश र केन्द्र सरकार छिट्टै परिवर्तन हुने अवस्थामा छन्। आफू पुगेको बेलामा कार्यकर्ताले जहाँ भन्छन्, त्यत्ति पैसा गाभिदिने चलन देखिन्छ; यो संघमा पनि देखियो, प्रदेशमा त अझ बढी। गाउँ पञ्चायत र त्यसपछि गाविस जस्तो प्रणाली हरायो। म करिब २०५५ सालदेखि हरेक बजेट विनियोजनमा सहभागी हुँदै आएको छु। पैसा ल्याइ, बजेटिङ, बाँडफाँड गर्दै आएको अनुभवले मलाई सिकार दिएको छ कि बजेट छोटो भए पनि जनताले बढी सेवा पाउनुपर्छ र स्थायी प्रकारको योजनामा लगिनुपर्छ।

पालिकामा आउँदा हामीले गौरवका योजना ५० लाखभन्दा कममा राख्दैनौँ, तर प्रदेश सरकारले ५ लाखका साना कार्यक्रम राख्छ। हालका मुख्यमन्त्री पनि एक कार्यक्रममा भन्नुभयो कि यस वर्षको बजेट विनियोजन मन परेको छैन। जहाँ कार्यकर्ताले भनेको त्यहीँ बजेट दिनाले विकास कहिल्यै हुँदैन। प्रदेश सरकारबाट उपलब्धि मैले खासै देखेको छैन, किनभने उनीहरूले चाहेर पनि कार्यान्वयन गर्न सक्दैनन्।

गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुखले जनताका महत्त्वपूर्ण आवश्यकतामा बजेट उपयोग गर्न सिफारिस गरेका छौं। प्रदेश सरकारबाट पैसा आएको छ, तर उपयोग भएको छैन। केन्द्र सरकारले एक करोडको बजेट पठाउँछ; पालिकामा एउटै ठुलो योजना पठाइए पाँच वर्षमा धेरै विकास हुने छ। यदि प्रदेश र केन्द्र दुवैले नीति बनाएर प्रत्येकले पाँच–पाँच ठुला योजना पठाए, पाँच वर्षमा पालिकाको विकास स्पष्ट देखिन सक्छ। त्यसैले नीति आवश्यक छ, तर अहिले नीति छैन।

गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष फरक पार्टीको भइरहँदा कतिपय स्थानीय तहमा काम गर्नलाई असहज भइरहेको सुनिन्छ । तपाईँको गाउँपालिकामा कस्तो छ अवस्था ?

फरक पार्टीको भए पनि सहमतिमा काम भएको छ। काम गर्दा सल्लाह सुझावसहित अगाडि बढेका छौं, किनभने प्रायः एकै पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुख हुँदैनन्। फरक पार्टीबाट निर्वाचित भएकोले राजनीतिक रूपमा कुनै विमति छैन। स्थानीय तह बहुमतीय हिसाबले नै चल्न सक्दैन, त्यसैले सहमति र सहकार्यको साथ काम गर्नु आवश्यक छ। म फरक पार्टीबाट निर्वाचित भए पनि उपाध्यक्ष फरक पार्टीबाट निर्वाचित हुनुभयो। आखिर, जो जताबाट निर्वाचित भएको भए पनि स्थानीयलाई राम्रो सेवा दिने र नेतृत्वकर्ताका रूपमा यहाँको विकास गर्ने नै हाम्रो मुख्य लक्ष्य हो। त्यसैले हाम्रो पालिकामा त्यस्ता खालका टसल छैनन्, हामी मिलेर काम गरिरहेका छौं र काम गरिरहनेछौं।

तपाईँले गर्नु पर्ने या गर्न बाँकी रहेका योजनाहरू के के छन् ?

योजना धेरै छन् तर कार्यान्वयनमा कठिनाइ छ। पर्यटन क्षेत्रमा मुकुन्दसेन राजाको दरबारको भग्नावशेष संरक्षण र निर्माण गर्ने, थानिमाई मन्दिर पार्किङसहितको मन्दिर निर्माण गर्ने योजना रहेका छन्। पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासका कामहरू अझै बाँकी छन्। सानो आदीको संरक्षण र पुनर्निर्माणका काम पनि बाँकी छन्। पर्यटनसँगै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने योजना छ। यस वर्ष तोरी र मुसुरोलाई मुख्य खेतीको रूपमा प्रवर्द्धन गरिने छ भने आगामी वर्ष आलुलाई आम्दानीको मुख्य स्रोत बनाउने योजना रहेको छ। अनुदानका कार्यक्रमलाई निरन्तरता दिइने छ। बन्दीपुरलाई दूधमा आत्मनिर्भर बनाइ बन्दीपुरका युवालाई विदेश जानबाट रोक्दै गाउँमै रोजगार दिने प्रयास गरिनेछ। साथै बन्दीपुरमा १२ महिना सडक सञ्चालन गर्न मिल्ने वातावरण तयार पार्ने योजना पनि अघि बढाइएको छ।

तपाईँको घोषणा पत्रमा उल्लेख गर्नु भएको काम तपाईँको कार्यकालमा गर्न सक्ने आधार कारण दिन सक्नुहुन्छ?

घोषणापत्रमा भएका अधिकांश कामहरू पूरा भएका छन्। पहिलेको सरकारले गरेका घोषणापत्र र अहिलेको सरकारले ल्याएका घोषणापत्रलाई सल्लाहअनुसार कार्यान्वयन गर्दैछौं। तीन सय बढी योजना भएकाले अधिकांश योजना कार्यान्वयनको चरणमा छन्। एक कार्यकालमा चाहेर पनि सबै घोषणापत्र कार्यान्वयन गर्न सकिँदैन। स्थायी सरकार आवश्यक छ; यदि एउटै व्यक्तिले दस वर्षसम्म काम गर्न पाउँथे भने मात्र बाचा गरिएका सबै काम पूर्ण गर्न सकिन्थ्यो। पर्यटन प्रवर्द्धनका लागि हामीले बन्दीपुरलाई काठमाडौँको ठमेल र पोखरासँग जोड्दै निरन्तर प्रयास गरिरहेका छौं। बन्दीपुरमा सुविधा सम्पन्न होटलहरू भए पनि दैनिकजसो पर्यटकको आगमन बढ्दै गइरहे पनि खानेपानीको अभाव छ, त्यसैले खानेपानी योजनालाई प्राथमिकताका साथ निर्माण गर्न प्रयास भइरहेछ। बन्दीपुरको सार पर्यटन प्रवर्द्धन नै गाउँपालिकाको प्रमुख आधार सिद्धान्तको रूपमा लिएर अगाडि बढेका छौं।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ
Verified by ExactMetrics