+
Search

ताजा अपडेट +

पपुलर +

गोरखामा किरैकिरा भेटिएको ‘करेन्ट चाउचाउ’ले वाइवाइको ट्रेडमार्क नक्कल गरेको आरोप, उद्योग विभागमा पर्याे मुद्दा

पालिका लाइभ
२०८० जेष्ठ २२, सोमबार

काठमाडौं– यशोदा फुड्सद्वारा उत्पादित करेन्ट चाउचाउले वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गर्दै वाइवाइ जस्तै देखिने गरी उपभोक्तालाई झुक्याउने काम गरेको आरोप सिजीले लगाएको छ ।

वाइवाइ उत्पादक सीजी फुड्सले यशोदा फुड्सबाट कानुनको प्रत्यक्ष उल्लंघन भएको आरोप लगाएको हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायम गरी चौधरी ग्रुपद्वारा उत्पादित वाइवाइ नेपालका साथै विभिन्न देशमा विक्री हुँदै आएको छ ।

करेन्ट चाउचाउले वाइवाइ जस्तै देखिने गरी र्यापर प्रयोग गरेर उपभोक्तालाई झुक्क्याएको आरोप छ ।

वाइवाइ जस्तै देखिने र्यापर प्रयोग गरी करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन र उपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन गरेपछि सीजीले उद्योग विभागमा मुद्दा दायर गरेको जनाएको छ ।

पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरू कसैले नक्कल गर्न हुँदैन भनिएको छ ।

उपभोक्तालाई भ्रममा पार्ने गरी ट्रेडमार्क हुबहु नक्कल गरी प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्राअनुसार १ लाख रुपैयाँसम्म जरिवाना र सो कसुरसँग सम्बन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ ।

सीजी फुड्सले यही कानुनअनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । कानुनले यस सम्बन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ ।

पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्रान्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । स्थापित वस्तुहरूको ट्रेडमार्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरी गरेर कम लागतमा धेरै मुनाफा आर्जन गर्ने विकृति बढेको छ ।

करेन्ट चाउचाउमा गोरखाका उपभोक्ताले किरा फेला पारेका छन्। गोरखा नगरपालिका-७ डण्डीडाँडामा उपभोक्ताहरूले चाउचाउ खान लाग्दा किरैकिरा फेला पारिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ