गोरखा– आगामी वैशाख ३० गते शुक्रवार गोरखासहित नेपालभर स्थानीय तहको निर्वाचन हुदैंछ ।
आसन्न स्थानीय निर्वाचनमा केन्द्रीय स्तरमा गठबन्धन कतै भए पनि गोरखामा भने फरक भएको छ । आसन्न निर्वाचनमा गोरखामा रहेका २३ दलमध्ये राष्ट्रिय मान्यता पाएका पाँच दलले एक अर्का दलसँग तालमेल गरेका छन् ।
केन्द्रीय स्तरको गठबन्धनले गठबन्धन भित्रका दलसँग मात्रै तालमेल गर्न निर्देशन दिएको भए पनि केन्द्रको निर्देशन विपरीत गोरखामा तालमेल भएको छ । गोरखामा नेकपा एमालेसँग जनता समाजवादी पार्टी (जसपा)ले तालमेल गरेको हो ।
एमालेले संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह नगर पालुङटारमा तालमेल गरेको हो । जसपाले एमालेका उपमेयर पदका उम्मेदवारलाई सहयोग गर्ने र एमालेले जसपाका मेयर पदका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हुन् । माओवादी र काँग्रेसलगायतका अन्य दल पनि पालुङटारमा एक्ला एक्लै निर्वाचनमा होमिएका छन् ।
जिल्लाभित्र आन्तरिक रूपमा जिल्लाका अन्य स्थानीय तहमा वडा तहसम्म तालमेल भएको छ । गोरखा नगरपालिकामा जसपा र नेकपा माओवादीवीच तालमेल भएको छ । माओवादीको उपमेयरको उम्मेदवार छैन भने जसपालाई उपमेयर दिएर गठबन्धन गरेको हो । उता नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीविच तालमेल भएको छ ।
सिरानचाेक, अजिरकाेट, बारपाक-सुलिकाेट, सहिद लखन गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले एक्ला एक्लै निर्वाचनमा होमिएका छन्। गण्डकी गाउँपालिकामा भने जसपा र माओवादीवीच तालमेल भएको छ । माओवादीले जसपालाई उपाध्यक्ष दिएर तालमेल गरेको हो ।
आरूघाटमा जसपा र एमालेवीच अघोषित तालमेल गरेका छन् । जसपा आरूघाटले एमालेका अध्यक्ष पदका उम्मेदवारलाई सहयोग गरेको हो। आरूघाटमा कांग्रेस, माओवादीलगायतका दल चुनावी मैदानमा होमिएका छन् ।
उत्तरी गोरखाको धार्चे र चुमनुव्री गाउँपालिकामा माओवादी केन्द्र र जसपावीच तालमेल भएको छ । अध्यक्ष र उपाध्यक्ष माओवादीलाई दिएर जसपाले तालमेल गरेको हो । अन्य वडाहरूमा माओवादीले जसपालाई वडा सदस्य दिएको जसपा गोरखाले जनाएको छ ।
प्रतिक्रिया