काठमाडाैं– अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा रहेको ‘भच्चेक स्वास्थ्य चौकी’ले यो महामारीको समयमा उचित व्यवस्थापनको अभावमा स्वास्थ्य सेवा प्रदान गर्न असफल भएको त्यस क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् ।
जनचेतना जगाउँदै सेवा दिनुपर्नेमा कोभिडको त्रास देखाउँदै स्वास्थ्य चौकीको गेट अधिकांश समय बन्द रहने गुनासो बढेको हो । स्वास्थ्य चौकीमा सित्तैमा औषधि उपचार पाइने आशमा घण्टौँ हिँडेर आएकाहरू स्वास्थ्य चौकीमा सेवा नपाएपछि निजी फार्मेसीबाट औषधि किन्नुपरेको पीडितहरू बताउँछन् ।
स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले निजी फार्मेसीमा काम गर्न नपाउने भएपनी भच्चेक स्वास्थ्य चौकीमा प्रमुख एच.ए ठाकुर भट्टले स्वास्थ्य चौकीकै गेट अगाडी आफ्नो फार्मेसी चलाएको अनि निःशुल्क पाइने औषधि पनि त्यही फार्मेसीबाट किन्नुपरेको गुनासो आएको छ ।
अझ, अधिकांश समय भट्ट बाहिर हुँदा फार्मेसी लाइसेन्स नभएको उनको श्रीमतीले बिना जाँच औषधि दिने गरेको पाइएको छ । केही महिना पहिले म्याद सकिएको औषधि बेचेको भनी समाचार प्रकाशित भएपछि गाउँपालिकाले सचेत गराउँदा आफ्नो लाइसेन्स नभएको स्वीकार गरेका स्वास्थ्य चौकी प्रमुख भट्टले अहले झनै श्रीमतीकै भरमा फार्मेसी चलाइरहेको खुल्न आएको छ ।
भच्चेकमा स्वास्थ्य शाखा प्रमुख रहेका गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेश दवाडी पनि आफ्नै फार्मेसी चलाउँदै आएका छन् । आफैँ स्वास्थ्य प्रमुख रहेका भट्ट कार्यालय समयमा पनि स्वास्थ्य चौकीमा नबसेर सँगै जोडिएको आफ्नै मेडिकलबाट औषधि बिक्री/वितरण गरिरहेका छन् । भच्चेकमा चारवटा फार्मेसी छ । तर, कुनैको पनि लाइसेन्स छैन । एक निजी क्षेत्रबाट सञ्चालित अस्पताल पनि सञ्चालनमा छ ।
स्वास्थ्य चौकीबाट ३५ प्रकारको औषधीहरू निःशुल्क पाइने भए पनि कर्मचारीको लापरबाही र गैर–जिम्मेवारीले जनता स्वास्थ्य सेवा पाउने आफ्नो नैसर्गिक अधिकारबाट समेत वञ्चित छन् । प्रतिनिधिसभा सांसद डा. बाबुराम भट्टराईले पुस ०६, ०७६ मा सुशीला अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा शनिवार भच्चेकमा भएको कार्यक्रममा बोल्दै स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको दरबन्दी आवश्यक रहेको भन्दै उनले भनेका थिए ‘कम्तीमा अहिले तत्काल एमडी स्तरको दरबन्दी हुनुपर्छ । यसको निम्ति म प्रयत्न गर्छु । हामी जसरी भए पनि कम्तीमा एउटा डाक्टरको दरबन्दी भच्चेक स्वास्थ्य चौकीमा उपलब्ध गराउने छौँ ।’
त्यसपछि गाउँपालिकाले करिब १३ लाख बजेट छुटाएर एमडी डाक्टरको व्यवस्था गर्यो । गाउँपालिकाको केन्द्रमा रहेको स्वास्थ्य चौकी एक मात्र हो । साबिकको क्षेत्रीय अस्पताल रहेको सिरानचाेक गाउँपालिका-८, जौवारिमा कम मात्रमा अजिरकोटका स्थानीय उपचारका लागि जाने भए पनि सबैको पहुँचमा नभएको स्थानीयले गुनासो गरेका छन्।
भट्टराईले स्वास्थ्य चौकीलाई १५ शैय्याकाे अस्पताल बनाउनु पर्ने भन्दै भनेका थिए– ‘गाउँपालिकाको केन्द्र भएकाले पनि उपचारका लागी बाहिर जानुपर्ने जुन अवस्था छ । त्यो निकै नै दयनीय छ । त्यसैले यो स्वास्थ्य चौकीलाई कम्तीमा पनि १५ शय्याको अस्पतालका रूपमा बनाउनु पर्छ । त्यसका लागी आवश्यक पहल गर्नेछु ।’ तर, सरकारले सोमबार, मङ्सिर १५, २०७७ मा ५ शय्याको अस्पतालका रूपमा यस स्वास्थ्य चौकी समेत समेटेपछि गाउँपालिका अध्यक्ष फणीन्द्र धितालले एक कार्यक्रमकावीच शिलान्यास गरेका थिए । अस्पताल निर्माणका लागि सरकारले गाउँपालिकालाई बजेट पठाइसकेको छ । यी सबै अस्पताल २ वर्षभित्र अस्पताल बनाइसक्ने सरकारको लक्ष्य छ । तर, अजिरकाेटमा निर्माण हुन लागेको पाँच शैय्याकाे अस्पताल निर्माणका लागि प्रक्रियामा नै नगएको स्रोत दाबी गर्छ ।
वैशाख १२ गते खरिबोटका बिरामी एक्स–रे गर्न स्वास्थ्य चौकी गए । तर, चौकीका कर्मचारी भट्ट स्वास्थ्य चौकीमा एक्स–रे नहुने भन्दै पन्छिए । चौकीलाई सुशीला अधिकारी प्रतिष्ठानले आधुनिक प्रविधि सहितको डिजिटल एक्स–रे मेसिन उपलब्ध गराएको थियो । तर, यो अहिले अचेत अवस्थामा छ।
स्थापना भएको दसकौँ भइसक्दा पनि भच्चेक स्वास्थ्य चौकीको अवस्था दयनीय छ । साधारण जाँचहरू पनि नहुँदा यहाँका जनता सदरमुकाम वा जिल्ला जानुपर्ने बाध्यता रहेको छ । एक्स–रे, अल्टा साउड लगायतका सुविधा आफ्नै गाउँ ठाउँमा उपलब्ध भएपछि उपचारको लागि अन्त जानुपर्ने अवस्थामा कमी आउने विश्वास प्रतिष्ठानका अध्यक्ष कुस्माखर अधिकारीको लिएका थिए । तर, कर्मचारीको बदमासी र गैर जिम्मेवारका कारण समग्र अजिरकाेटका जनताले दुःख कहिलेसम्म पाउने जन-जनकाे मनमा यही प्रश्न तेर्साइरहन्छन् ।
वडाध्यक्ष गुरुङ भन्छन्- कर्मचारीको उदासीनताका कारण समस्या आयो
अजिरकोट गाउँपालिका-३, हंसपुरका वडाध्यक्ष तायाराज गुरुङ कर्मचारीका उदासीनताका कारण समस्या आएको दाबी गर्छन् । ‘अहिले त्यस्तो समस्या केही छैन । स्वास्थ्य चौकीको गेट नै बन्द भएको होइन। अहिले एमडी डाक्टरसहित दुईजना स्टाफ नर्सले निरन्तर सेवा दिइरहेका छन् । गेट नै बन्द भएको चाहिँ होइन।’
स्वास्थ्य चौकीमा समस्या सिर्जना भएको भन्दै उनी भन्छन्- ‘मैले हरेक बैठकमा साथीहरूलाई प्रश्न गर्छु । किन हाम्रो स्वास्थ्य चौकीमा मानिसहरू उपचार गर्न आउनुहुन्न । के कारण यस्तो हुन गयो । सबै निजी अस्पतालमा जानुहुन्छ । यसमा तपाईँहरूको उदासीनता देखियो । यो तत्काल सच्चाउनुहोला ।’
याे पनि,
भच्चेककाे ‘पर्यन्ट मेडिकल’मा म्याद गुज्रिएको औषधि
अब ‘भच्चेक स्वास्थ्य चाैकि’मा डिजिटल एक्स-रे मेसिन सहितकाे सेवा
फजुल खर्च हाेइन, जनताकाे सेवा गर्नेास : डा. बाबुराम भट्टराई [भिडियाे]
प्रतिक्रिया