काठमाडाैँ- इद लगायतका पर्वमा सार्वजानिक विदाको माग गर्दै मुस्लिम समुदायले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको नेतृत्वमा मंगलबार ज्ञापन पत्र बुझाउदै मुस्लिम समुदायले पर्व विदा पुर्नस्थापना गर्न माग गरेका हुन् ।
गठबन्धनका संयोक समिम अन्सारीबाट ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदमा सार्वजनिक विदा दिने आश्वासन दिएको एक नेताले बताएका छन् । प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर मुस्लिम गठबन्धनका नेताहरुले मुस्लिम समुदायले खुशीयालीका साथ आफ्नो पर्व मनाउने अधिकार सुरक्षित गर्न इद पर्वमा विदा दिनुपर्ने माग गरेको प्रवक्ता मोहम्मद साहिद अलिले जानकारी दिएका छन् ।
‘हामीलाई हाम्रो अधिकारबाट बञ्चित बनाउने प्रयास हुदैछ, यसमा मुस्लिम समुदायको गम्भिर ध्यानाकर्षण भएको छ’ प्रवक्ता अलिले भने ‘हामीले नयाँ बिदा मागेका होइनौ, पहिलादेखि पाइरहेको विदा सरकारले काटेकाले त्यसको पुर्नस्थापनाको माग गरेका हौ ।’
इद लगायतका पर्वमा विदा कटौती गरेपछि मुस्लिम समुदाय सरकारसंग रुष्ट हुदै आएका छन् । सरकारले यस अघि मनाइएको इदुल फित्रमा समेत विदा नदिएपछि देशका बिभिन्न जिल्लामा मुस्लिम समुदायले कालोपट्टि बाँधेर इदको नमाज पढेका थिए । गठबन्धनले नजिकिदै गरेको बकर इदमा सरकारले विदा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएको जनाएको छ ।
यस अघि सरकारले मुस्लिम समुदायका दुइवटा इद र मुहम्मद जयन्तीका दिन विदा दिदै आएको थियो । तर विदा समायोजनका नाममा ओली नेतृत्वको सरकारले मुस्लिम लगायतका जातजातीका पर्वहरुको विदा कटौती गरेको थियो । इद विदाको माग गर्दै केहि महिना अघि पनि गठबन्धन लगायतका मुस्लिम संघ संगठनले प्रधानमन्त्री ओली लगायत उच्च नेतृत्वलाई ज्ञापनपत्र बुझाइसकेको थियो ।
प्रतिक्रिया