गोरखा– शनिवार गएको भूकम्पले जिल्लाका ५८ हजार घर ध्वस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । ४५ हजार ६ सय ८ वटा संरचनाहरू पूर्ण रूपमा क्षति भएको जिल्ला दैविक प्रकोप उद्गार समितिले जनाएको छ ।
त्यस्तै दुई हजार सात सय ६७ वटा भौतिक संरचनामा आंशिक तथा एक सय ८५ संरचनाहरूमा सामान्य क्षति पुगेको छ ।
तर जिल्ला दैविक प्रकोप उद्गार समिति अन्तर्गतको राहत वितरण समितिले शनिवार दिएको पछिल्लो जानकारी अनुसार जिल्लामा ३ हजार एक सय ७९ वटा त्रिपाल वितरण भएको छ ।
विभिन्न संघ संस्थाहरूको सहयोगमा शनिवार साँझ सम्म १५ हजार ८ सय ५१ वटा त्रिपाल प्राप्त भएको छ । जिल्ला विकास समितिको सभाहलमा राहत भण्डारण गरेर एकद्घार प्रणालीबाट वितरण गरिएको छ । शनिवार साँझ सम्मको अवस्था हेर्दा गोरखामा अझै कम्तीमा ४५ हजार त्रिपालको आवश्यक छ ।
तर प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला दैविक प्रकोप उद्गार समिति समक्ष निकै कम त्रिपाल छ । पहिलो चरणको राहत वितरण सकियो जिल्लामा पहिलो चरणमा सबै गाविसमा राहत पुर्याइएको जिल्ला दैविक प्रकोप उद्गार समितिले जनाएको छ ।
शनिवार बाट दोस्रो चरणको राहत सामाग्री वितरण थालिएको जिल्ला दैविक प्रकोप उद्गार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना बत्ताउँछन् । तर जिल्लाको अधिकांश ठाउँका स्थानीयहरू राहत सामाग्री नै नआइपुगेको बताउँछन् । आएका राहत सामाग्री पनि निकै कम मात्रामा आएको स्थानीयहरूको गुनासो छ ।
‘तिन वटै क्षेत्रमा सह सचिवको नेतृत्वमा राहत वितरण गरेका छौँ ।’ तिमल्सीनाले भने । राहत वितरणलाई थप प्रभावकारी बनाउन पालुङटार हवाई मैदान बाट पनि राहत सामाग्री उत्तरी क्षेत्र पठाएको उनले बताए । तर कतिपय ठाउँका स्थानीयले भने आफूहरूले राहत नपाएको गुनासो गरेका छन् ।
राहत किन पुगेन ?
जिल्ला दैविक प्रकोप उद्गार समितिले वितरण गरेको राहत अधिकांश ठाउँमा नपुगेको स्थानीयहरूले गुनासो गर्छन् ।राहत वितरण समितिले समन्वय र योजना विना नै राहत वितरण गरेपछि राहत पुग्न नसकेको हो ।
सम्बन्धित ठाउँमा राहत नपुगेपछि अहिले सहयोगका लागी आउने संघ संस्थाले आफूखुसी विभिन्न ठाउँमा लैजान थालेका छन् ।
एकद्घार प्रणालीबाट राहत वितरण गर्ने जनाइए पनि सो राहत सम्बन्धित ठाउँमा नपुगेपछि भण्डारण कक्षमा राहत नलगी गाउँ गाउँमा पुर्याउन थालिएको छ । राजनीतिक दलका जिल्ला नेताहरूले आफ्नो पहुँच पुगेको ठाउँमा मात्र राहत दिने गरेको स्थानीयहरूको गुनासो छ ।
प्रतिक्रिया