गोरखा- गोरखा नगरपालिकाको बजार क्षेत्रमा ३९ वटा सिसि क्यामेरा जडान गरिएको छ ।
जडान गरिएका सिसि क्यामेराहरूलाई मङ्सिर १७ गते एक कार्यक्रमका बीच जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतित्थ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बजार क्षेत्रभित्र जडान भएका उक्त सिसि क्यामेराको उद्घाटन गरी जडान गरिएको हो ।
गोरखास्थित विभिन्न वित्तीय संघ संस्था, टोल विकास संस्था र अन्य साझेदारी संस्थाहरूको सहयोगमा गोरखा नगरपालिकाका वडा नम्बर ६, ७, ८ को बजार क्षेत्रमा २४ लाख ६० हजारको लागतमा ती सिसि क्यामेरा जडान गरिएको हो ।
जडान गरिएका सिसि क्यामेरा सामुदायिक सेवा केन्द्र गोरखाद्वारा गोरखा नगरपालिकालाई र गोरखा नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको हो । सिसि क्यामेरा जडानमा सहयोग गर्ने सम्पूर्ण संघ संस्था एवं व्यक्तिहरूलाई कार्यक्रममा प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।
गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नगरपालिकाका प्रमुख राजनराज पन्त, ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरालगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया