+
Search

ताजा अपडेट +

पपुलर +

नेपाल सुरुङ युगमा प्रवेश :

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा, एक महिनासम्म परीक्षण गरिने

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनका क्रममा सुरुङभित्र आफैँ गाडी चलाउँदै। तस्बिर: प्रदीपराज वन्त/रासस
पालिका लाइभ
२०८३ श्रावण ११, सोमबार

काठमाडौं– नागढुंगा-सिस्ने खोला सुरुङमार्ग आजदेखि औपचारिक सञ्चालनमा आएको छ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको संयुक्त रूपमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले पहिलो चरणमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन र अत्यावश्यक सवारीसाधनलाई मात्र प्रवेश दिइने बताए ।

केही दिन सुरुङमार्ग पूर्ण रूपमा परीक्षण गरेर सबै वर्गका सवारीसाधनलाई सञ्चालन हुन दिइनेछ । सुरक्षा अवस्था र ट्राफिक व्यवस्थापनको परीक्षण गरेर अन्य सवारीसाधनलाई सञ्चालन हुन दिइने बताइएको छ । परीक्षण अवधिभर सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले कुनै शुल्क तिर्नुपर्ने छैन ।

कुल दुई हजार ६ सय ८८ मिटर लामो सुरुङमार्गमा सवारीसाधन सञ्चालन हुँदा निश्चित शुल्क तिर्नुपर्दछ । सडक विभागका अनुसार कार र भ्यानले काठमाडौँ भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, पैदलयात्री, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीसाधन र विस्फोटक पदार्थ बोकेका सवारीलाई प्रवेश निषेध गरिएको छ ।

आयोजनामा मुख्य एवं उद्धार गरी दुईवटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धारकार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । सुरुङ मार्गको निर्माण जापानको हाज्मा एन्डो कर्पोरेसनले गरेको हो ।

आयोजनाको परामर्श दातृ संस्था निप्पन कोइका इन्जिनियर रमेशप्रसाद कोइरालाका अनुसार सुरुङमार्गमा सुरक्षा, सहज आवागमन र मानवीय सुरक्षाका लागि दमकल, आकस्मिक उद्धार, सिसिटिभी क्यामेरा, सञ्चार र सुरक्षा संयन्त्र उपलब्ध छ ।

यस्तै, अक्सिजनको निरन्तर प्रवाह र अन्य अत्यावश्यक सेवा उपलब्ध गराइएको छ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ । हाल सञ्चालनमा रहेको राजमार्गमा हुने जाम, त्यहाँको उकालो र घुमाउरो बाटो आदिका हिसाबले इन्धन र सडक उपभोक्ताको झन्डै एक घण्टा समय बचत हुने अपेक्षा गरिएको छ ।

सुरुङमार्ग निर्माणमा जापान सरकारको २१ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको छ अर्ब रुपैयाँ बराबरको लगानी रहेको छ । सुरुङमार्ग सञ्चालन, व्यवस्थापनका लागि व्यवसायी छनोट भई परिचालित भइसकेको छ । सुरक्षाकर्मी तथा अन्य प्राविधिक कर्मचारीले नियमित अनुगमन तथा निरीक्षण गरिरहेका छन् ।

सुरुङमार्ग भएर सञ्चालन हुने सवारीसाधनले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने गरी आवश्यक प्रबन्ध गरिएको छ । निर्माण सुरु गर्दा ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि कोराना महामारी तथा अन्य केही जटिलताका कारण आयोजनाको समय लम्बिन पुगेको थियो ।

सुरुङ मार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र मुख्य सुरुङको ब्रेकथ्रू तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ