काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वाणिज्य बैंकहरूको संयुक्त खुद नाफा १९.४५ प्रतिशतले बढेर ६४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा ५३ अर्ब ९७ करोड रुपैयाँ रहेको थियो।
लगातार घट्दै आएको ब्याजदरका कारण बैंकहरूको कस्ट अफ फण्ड (लागत) घट्दा नाफामा सुधार देखिएको हो। समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १४ बैंकले नाफा बढाएका छन् भने ६ बैंकको नाफा घटेको छ।
सबैभन्दा उल्लेख्य नाफा वृद्धि कुमारी बैंकको देखिएको छ। अघिल्लो वर्ष ११ महिनामा ३७ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले यस वर्ष ४ अर्ब ७० करोड ६९ लाख रुपैयाँ नाफा गर्दै १,१६८.४५ प्रतिशतको वृद्धि हासिल गरेको छ।
खुद नाफाको आकारका आधारमा भने नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले जेठ मसान्तसम्म ८ अर्ब ४९ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन सबै वाणिज्य बैंकमध्ये सर्वाधिक हो।
यद्यपि सबै बैंकको अवस्था समान छैन। एनआईसी एसिया बैंकको नाफा सबैभन्दा धेरै ३८.८१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको ८२ करोड ९७ लाख रुपैयाँबाट बैंकको खुद नाफा घटेर ५० करोड ७७ लाख रुपैयाँमा सीमित भएको हो। कमजोर नाफा वृद्धिका कारण एनआईसी एसिया यस अवधिमा सबैभन्दा बढी दबाबमा परेको वाणिज्य बैंक बनेको छ।
त्यस्तै प्रभु बैंकको नाफा ३४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २१.०५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.७४ प्रतिशत, एभरेष्ट बैंकको २.७७ प्रतिशत तथा ग्लोबल आइएमई बैंकको ०.९६ प्रतिशतले घटेको छ।
बैंकरहरूका अनुसार बजारमा पर्याप्त तरलता र निरन्तर घट्दो ब्याजदरका कारण बैंकहरूको ब्याज खर्च उल्लेख्य रूपमा घटेको छ। यसले सञ्चालन लागत कम गरी नाफा बढाउन सहयोग पुर्याएको हो। तर कर्जा विस्तार भने अपेक्षाअनुसार हुन सकेको छैन।
जेठसम्म करिब ३ खर्ब १९ अर्ब रुपैयाँ मात्र कर्जा विस्तार भएको र कर्जा असुली पनि पूर्ण रूपमा सहज नभएकाले व्यवसाय विस्तारभन्दा लागत घटेकै कारण नाफामा सुधार आएको बैंकिङ क्षेत्रको विश्लेषण छ।
कुनको नाफा कति ?
| वाणिज्य बैंकहरु | २०८३ जेठसम्म नाफा (दशलाखमा) | २०८२ जेठसम्म नाफा (दशलाखमा) | नाफा फरक (प्रतिशतमा) |
| नेपाल बैंक | ३,३२७.६७ | ३,०७०.५८ | ८.३७ |
| राष्ट्रिय वाणिज्य | ३,७२४.८७ | २,२०६.४४ | ६८.८२ |
| नबिल | ८,४९२.२४ | ६,४०८.३३ | ३२.५२ |
| नेपाल इन्भेष्टमेन्ट मेगा | ४,४९१.१० | ५,६८८.१८ | -२१.०५ |
| स्टान्डर्ड चार्टर्ड | २,६२४.१५ | २,७२६.२० | -३.७४ |
| हिमालयन | १,१६४.२७ | ९०५.३९ | २८.५९ |
| नेपाल एसबिआई | १,८३८.४२ | १,५४९.२५ | १८.६७ |
| एभरेष्ट | ४,१२३.४२ | ४,२४०.६८ | -२.७७ |
| एनआईसी एसिया | ५०७.७ | ८२९.७४ | -३८.८१ |
| माछापुच्छ्रे | २,१७७.११ | १,५०९.२५ | ४४.२५ |
| कुमारी | ४,७०६.९५ | ३७१.०८ | ११६८.४५ |
| लक्ष्मी सनराइज | २,८०१.६८ | २,५७९.२० | ८.६३ |
| सिद्धार्थ | २,८०१.६८ | २,२१८.१३ | २६.३१ |
| कृषि | १,९५८.९२ | १,८१९.३६ | ७.६७ |
| ग्लोबल आइएमई | ५,९७८.३४ | ६,०३६.४२ | -०.९६ |
| सिटिजन्स | १,७४६.१३ | १,४११.४३ | २३.७१ |
| प्राइम | ३,७४९.४५ | २,९०५.०० | २९.०७ |
| एनएमबि | ३,६३०.८२ | ३,०३१.१२ | १९.७८ |
| प्रभु | १,५०४.८३ | २,३१२.०० | -३४.९१ |
| सानिमा | ३,१२२.३७ | २,१५५.६९ | ४४.८४ |
| जम्मा | ६४,४७२.१२ | ५३,९७३.४७ | १९.४५ |
प्रतिक्रिया