+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमै बसेर प्रमुख प्रशासकीय अधिकृतले अवैध तरिकाले करोडौं रकम निकालेपछि….

पालिका लाइभ
२०८३ असार २७, शनिबार

काठमाडौं– रौतहटको मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेले काठमाडौंमै बसेर नगरपालिकाको खाताबाट करोडौँ रुपैयाँ निकालेको आरोप लागेको छ।

घटनाबारे छानबिन गरी रकम फिर्ता गराउन तथा घिमिरेलाई निलम्बन गरेर आवश्यक कारबाही गर्न नगर प्रमुख रिनाकुमारी साहले माग गरेकी छन्।

महिनौँदेखि कार्यालयमा अनुपस्थित रहेको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृत घिमिरेले काठमाडौंबाटै नगरपालिकाको खाताबाट ठूलो रकम निकालेको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख साहले शुक्रवार विज्ञप्ति जारी गरेकी हुन्।

विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत घिमिरेले  लामो समयदेखि कार्यालयमा उपस्थित नभई सेवा प्रवाह प्रभावित बनाएको, विकास निर्माणका काममा अवरोध पुर्‍याएको तथा नगर नेतृत्वको जानकारी र निर्णयबिनै सरकारी खाताबाट रकम निकालेको आरोप लगाइएको छ।

नगर प्रमुख साहले सरकारी खाताबाट निकालिएको भनिएको रकम तत्काल नगरपालिकाको खातामा फिर्ता गराई घटनाको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेकी छन्। उनले सरकारी स्रोतसाधनको दुरुपयोग भएको आरोप लगाउँदै दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने बताएकी छन्।

उनका अनुसार नगरपालिकामा केही शीर्षकमा भुक्तानी गरिएको तर अन्य आवश्यक शीर्षकमा भुक्तानी रोकिएको अवस्थाले थप अन्योल र विवाद सिर्जना गरेको छ। त्यसैले प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई तत्काल निलम्बन गरी सरकारी खाताबाट निकालिएको भनिएको रकम असुलउपर गर्न सरकारसँग उनले आग्रह गरेकी छन्।

नगर प्रमुख साहले मौलापुरमा देखिएको प्रशासनिक समस्या समाधानमा सामान्य प्रशासन मन्त्रालय प्रभावकारी रूपमा अघि बढ्न नसकेको उल्लेख गर्दै अब भने आवश्यक पहल गर्न आग्रह गरेकी छन्। साथै, सर्वोच्च अदालतको अन्तरिम आदेशको भावनाअनुसार पनि समस्या समाधान हुनुपर्ने उनको भनाइ छ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै स्थानीयवासीले बिहीबार प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा प्रधानमन्त्री बालेन शाहको पुत्ला दहन गरिएको थियाे।

यस विषयमा प्रमुख प्रशासकीय अधिकृत सुरेशबाबु घिमिरेको प्रतिक्रिया प्राप्त हुन सकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ