+
Search

ताजा अपडेट +

पपुलर +

गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम रात ‘गोप्य भुक्तानी’, निजी घरबाट करोडौँका काटिए चेक

पालिका लाइभ
२०८३ असार २७, शनिबार

रौतहट– गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा कार्यालय बन्द गरेर कर्मचारीको निजी घरबाट विभिन्न योजनाको करोडौँ रुपैयाँ बराबरको भुक्तानी भएको छ। घटनाले स्थानीय तहको वित्तीय अनुशासन, पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

स्रोतका अनुसार असार २४ र २५ गते राति तथा आर्थिक वर्षको अन्तिम दिन नगरपालिकाको नियमित कार्यालयमा नभई दुर्गाभगवती गाउँपालिका–३, मत्सरीस्थित स्वास्थ्य शाखा प्रमुख प्रवीण झाको निजी निवासबाट विभिन्न योजनाका भुक्तानी चेक तयार पारिएको दाबी छ । आर्थिक वर्ष समाप्त भएसँगै राति १२ बजे वित्तीय प्रणाली बन्द हुने भएकाले हतारमा त्यहीँबाट भुक्तानी प्रक्रिया अघि बढाइएको दाबी गरिएको छ।

घटनामा नगर प्रमुख कन्थमणि जयसवाल, प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपाने, लेखा शाखाका कर्मचारी तथा केही वडाध्यक्षको संलग्नतामा कार्यालयबाहिरबाट भुक्तानी प्रक्रिया सञ्चालन भएको आरोपसमेत लागेको छ।

बिहीबार साँझ प्रमुख प्रशासकीय अधिकृत न्यौपाने, लेखा शाखाका कर्मचारी सत्यनारायण सहनीसहित अन्य कर्मचारी निजी घरमै विभिन्न योजनाको भुक्तानी चेक तयार गरिरहेका बेला प्रहरी पुगेको थियो। नगरपालिकाको कार्यालयबाट करिब २० किलोमिटर टाढा रहेको उक्त स्थानमा सरकारी आर्थिक कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी पुगेको स्रोतले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सेवाग्राहीको काम प्रभावित नहोस् भन्ने उद्देश्यले प्रमुख प्रशासकीय अधिकृतसहित सम्बन्धित कर्मचारीलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछपछि छाडिएको थियो।

स्थानीयवासीले नगरपालिकाका धेरै योजना अझै पूर्ण रूपमा सम्पन्न नभएको दाबी गरेका छन्। उनीहरूका अनुसार अपूर्ण योजनालाई कागजी रूपमा सम्पन्न देखाएर आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी गरिएको हुन सक्ने आशंका छ। आरोप पुष्टि भए सार्वजनिक खर्च व्यवस्थापन, योजना कार्यान्वयन तथा भुक्तानी प्रणालीमाथि गम्भीर प्रश्न उठ्ने उनीहरूको भनाइ छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिँदै कार्यालय बन्द गरेर अन्यत्र सरकारी भुक्तानी गरिएको विषयलाई गम्भीर रूपमा लिइएको बताए। उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहित संलग्न कर्मचारीमाथि आवश्यक कारबाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लिखित सिफारिस गरिएको छ।

घटनापछि स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्। उनीहरूले सरकारी कार्यालयमा ताला लगाएर निजी घरबाट सार्वजनिक कोषको भुक्तानी गरिएको घटनाको सत्य तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन सकेनन्। यता नगर प्रमुख जयसवालले भने कार्यालयबाहिर बसेर सरकारी चेक काट्ने कार्य उचित नभएको स्वीकार गरेका छन्।.50

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ