सिरहा– असार मसान्त नजिकिँदै जाँदा देशभरजस्तै सिरहाका स्थानीय तहमा पनि विकास निर्माणका काम हतार–हतार अघि बढाइएको देखिन्छ।
वर्षभर कुम्भकरणको निद्रामा सुतेका जनप्रतिनिधि तथा कर्मचारीहरूले असारमसान्तमा गुणस्तरयताको ख्यालनै नगरी हतार हतारमा विकास निर्माणको काम तीव्र गतिमा अगाडि बढाएको हो । यसको ज्वलन्त उदाहरण बनेको छ- गोलबजार नगरपालिका। सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर मा निर्माणाधीन आरसीसी सडक ढलान कार्य गुणस्तरहीन भएको स्थानीयहरूले आरोप लगाएका छन् ।
दुर्गापुरको तत्माटोल देखि कासिपुर जाने बाटो गए राति देखि ढलान कार्य सुरु गरिएको छ। संघीय अनुदान अन्तर्गत २५ लाखको लागतमा ठेक्का मार्फत गराइएको हो। राति ढलान गरेको सो आरसिसि ढलानलाई ढाकछोप गर्न प्राविधिकले गुणस्तर भने पनि ढलान भएको एक दिन नबित्दै चिरा पर्न थालेको स्थानीयको गुनासो छ।
स्थानीय देवेन्द्र महतोको अनुसार झगएराति देखि सुरु गरिएको ढलान कार्य गुणस्तरहीन रहेको छ। उनले भने, वडाध्यक्षकै निगरानीमा भइरहेको ढलान निर्माण कार्य गुणस्तरहीन छन् । ढलान गरेको केही घण्टा मै ठाउँ ठाउँमा चिरा पर्न थालेको बताए। उनले थपे, प्राविधिक बिनाको यति ठुलो रकमको काम गर्नु भनेको सरकारी रकम दुरुपयोग गर्नु हो।
अर्का स्थानीय राजीव सिंहले भने, ‘झस्टिमेटमा ढलान गर्नु अघि ग्राभेल हालेर रोलर चलाएर ढलान गर्नु पर्ने हो। तर, ठेकेदारले ग्राभेल हालेर सिधै ढलान कार्य गरेको उनको दाबी छ। रोलर त के ग्राभेल मिलाउने काम समेत गरिएको छैन।’
यता, गोलबजार नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष नन्द कुमार महतोले भने, ‘हामीलाई यो विषयमा कुनै जानकारी नै छैन। यो विषयमा कुरा गर्नु छ भने नगरपालिकामा सोधपुछ गर्नु।’
स्थानीयले यो निर्माण कार्य गुणस्तरहीन भएको दाबीमा उनले भने, ‘तपाईँलाई जसले गुनासो गर्यो, उसैलाई सोध्नु’ भन्दै आफू चोखिन खोजिएको छ। वडामा कुनै पनि योजनाको हुँदा निगरानी गर्ने वडा अध्यक्षको दायित्व हो नि भन्ने प्रश्नमा उनले, ‘वडा अध्यक्षको व्यक्तिगत पनि काम हुन्छ। म आफ्नै काममा छु, मलाइ केही थाहा छैन थप जानकारी लिन वडामै आउनु’ भन्दै झोकिएर ओठे जवाफ फर्काउँदै फोन काटेका छन् ।
यता, सोही विषयमा गोलबजार नगरपालिकाको योजना प्रमुख तथा इन्जिनियर जय गणेश सिंहले भने, ‘यो संघिय सरकारको बजेट हो, हामीले इबिडिङ मार्फत ठेक्का लगाएका छौ। सो कामको लागि २५ लाखको बजेट भए पनि प्रधान निर्माण सेवाले २१ लाखमा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको छ,’ उनले भने, ‘त्यो योजनामा धेरै नै टाइट काम गराइरहेका छौ। राति कामदारहरूले सिमेन्टको मात्रा बढाएकोले ढलानमा चिरा परेको हुनसक्छ । म अहिले साइडमा आफै जादैछु।’
यसैबीच गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गर्न खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
असार मसान्तमा बजेट सक्ने दबाबका कारण स्थानीय तहमा हतार–हतार निर्माण गर्ने प्रवृत्ति वर्षौँदेखि दोहोरिँदै आएको स्थानीयहरूको गुनासो छ। योजना सम्पन्न भएको केही घण्टामै चिरा देखिनु सामान्य प्राविधिक अवस्था हो वा निर्माण प्रक्रियामा लापरबाही भएको हो भन्ने विषय प्राविधिक परीक्षणबाट मात्र पुष्टि हुने स्थानीयहरूको कथन छ। तर, स्थानीयले उठाएका प्रश्न, वडा अध्यक्षको बेखबर प्रतिक्रिया र निर्माण स्थलमा देखिएको अवस्थाले जनप्रतिनिधि तथा कर्मचारीहरूको मिलेमतो रहेको पुष्टि गर्छ।
प्रतिक्रिया