+
Search

ताजा अपडेट +

पपुलर +

किसानलाई गुणस्तरीय बिउ दिन ५८ स्थानीय तहमा कार्यक्रम सञ्चालन

पालिका लाइभ
२०८३ असार २१, आईतवार

काठमाडौं– कृषि विभागले किसानलाई गुणस्तरीय बिउमा सहज पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न १८ जिल्लाका ५८ वटा स्थानीय तहमा ‘स्रोत बिउ उत्पादन कार्यक्रम’ सुरु गरेको छ ।

संघीय सरकारको सशर्त वित्तीय हस्तान्तरण कार्यक्रममार्फत उन्नत बिउ उत्पादन गर्न विभागले यो कदम चालेको हो । विभागले यस कार्यक्रमअन्तर्गत ‘हर्दिनाथ–१’ र ‘हर्दिनाथ–३’ वर्णशंकर (हाइब्रिड) जातका धानलाई प्रवर्द्धन गर्ने जनाएको छ ।

साथै, २१ वटा जोन र ५ वटा सुपरजोनमार्फत वर्षे तथा चैते धान खेतीमा यान्त्रिकीकरण र मूल्य शृंखला विकास गरिनेछ । चैते धान खेतीलाई प्रवर्द्धन गर्न किसानलाई विशेष अनुदानसमेत उपलब्ध गराइने विभागको भनाइ छ ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले जलवायु परिवर्तनको असर कम गर्न धानका नयाँ र उत्थानशील जात विकास गर्न लागिएको बताए ।

‘जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन हामीले धान बालीमा उत्थानशील जात विकास गर्दैछौँ,’ महानिर्देशक सञ्जेलले भने, ‘यसका साथै धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी संकलन गर्ने जस्ता प्रविधिको विस्तारमा पनि हाम्रो जोड छ ।’

यसैगरी विभागले यसै वर्षदेखि थप ४ वटा जिल्लामा धानमा आधारित नयाँ परियोजना अघि बढाएको छ । महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का ८ वटा स्थानीय तहमा यो परियोजना सुरु गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ